चीनको अग्रता अझ फराकिलो

पेरिस । पेरिस ओलम्पिकमा चीनको अग्रता अझ फराकिलो बन्दै छ । बिहीबार बिहान र साँझसमेत गरी थप २ स्वर्ण पदक जितेको चीनको ११ स्वर्ण पदक छ ।
सुटिङको ५० मिटर थ्रि पोजिसन पुरष पिस्तोलमा चीनका ली युकिनले स्वर्ण पदक जिते । सो स्पर्धामा युक्रेनका सेरिइ कुलुसले रजत तथा भारतका स्वप्नील कुसालेले कास्य पदक जिते । एथलेटिक्सको २० किलोमिटर महिला हिडाइमा चीनकी वाङ जियाउले स्वर्ण, स्पेनकी मारिया पेरेजले रजत तथा अस्ट्रेलियाकी जेमिना मोटाजले कास्य पदक जिते ।
पुरुषतर्फ इक्वेडरका ब्रायन डायिनलले स्वर्ण पदक जिते भने ब्राजिलका काइयो बाफिमले रजत तथा स्पेनका अल्भारो मार्टिनले कास्य पदक जिते ।

रोइङको महिला डबल स्क्रल्समा न्युजिल्यान्डले स्वर्ण, रोमानियाले रजत तथा बेलायतले कास्य पदक जिते । रोइङ पुरष डबल स्क्रल्समा रोमानियाले स्वर्ण, नेदरल्यान्ड्सले रजत तथा आयरल्यान्डले कास्य पदक जिते । रोइङको महिला फोर स्क्रल्समा नेदरल्यान्ड्सले स्वर्ण, बेलायतले रजत तथा न्युजिल्यान्डले कास्य पदक जिते ।
पुरुषको फोर फाइनलमा अमेरिकाले स्वर्ण, न्युजिल्यान्डले रजत तथा बेलायतले कास्य पदक जिते ।
पेरिस ओलम्पिकमा बुधबारको रात भने विशेष थियो । बुधबार ३ फरक सफलताका कथा पेरिस ओलम्पिकको अक्वेरियम पुलमा देखियो । बुधबार पौडीका ४ स्वर्ण पदकको टुंगो लागेको थियो । ती ४ वटै स्वर्ण पदकको कथा भने फरक थियो ।

महिला १०० मिटर फ्रिस्टाइलमा स्विडेनकी सहरा जोसर्टटमले स्वर्ण पदक जितिन् । सो स्पर्धामा अमेरिकाकी टोरी हस्कले रजत तथा हङकङकी सिमोना हाउजीले कास्य पदक जिते । जोर्सटमले यस ओलम्पिकको अन्तिम समयसम्म यस स्पर्धामा सहभागिता नजनाउने जनाएकी थिइन् । उनले अन्तिम समयमा नाम लेखाएकी हुन् । पौडी इतिहासकै सर्वकालीन उत्कृष्ट महिला स्प्रिन्टर जोर्सटमले १५ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनको दोस्रोपटक ओलम्पिक स्वर्ण जितेकी हुन् । सन् २०१६ को रियो ओलम्पिकमा उनले १०० मिटर बटरफ्लाइमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । सो कीर्तिमान यसै वर्ष भएको अमेरिकी ओलम्पिक छनोटमा ग्लेटचन वाल्सले भंग गरेकी थिइन् ।

सन् २०१७ को विश्व च्याम्पियनसिपको महिला रिलेको लिडअफमा उनले ५१ दशमलव ७१ सेकेन्डको विश्व कीर्तिमान कायम गरेकी थिइन् । सो कीर्तिमान अझै कायम छ । सो च्याम्पियनसिपको फाइनलमा भने उनी अमेरिकाकी सिमोन मानुएलभन्दा पछि रहिन् । तथापि उनले बुधबारसम्म सो स्पर्धामा ओलम्पिक र विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न भने सफलता पाउन सकेकी थिइनन् ।

बुधबार फ्रान्सका लियो मर्चान्डले २ स्वर्ण पदक जिते । ती २ स्वर्ण पदक २०० मिटर बटरफुलाई र २०० मिटर ब्रेस्ट स्ट्रोकमा थियो । २०० मिटर बटरफ्लाईमा १ मिनेट ५१ दशमलव २१ सेकेन्ड समयको ओलम्पिक कीर्तिमानसहित थियो । विश्व कीर्तिमानधारी हंगेरीका क्रिस्टोफर मिलाकले सो स्पर्धामा रजत पदक जिते । क्यानडाका इलिया खारुनले कास्य पदक जिते । सो स्पर्धाको स्वर्ण जितेको केही समयपछि नै आफ्नो घरेलु पुलमा पौडिरहेका मर्चान्डले २ मिनेट ८ दशमलव ८५ को ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जिते । सो स्पर्धामा अस्ट्रेलियाका ज्याक सेबटर कुकले रजत तथा नेदरल्यान्ड्सका कास्टर कोरेबाउसले कास्य पदक जिते ।

सो पदक यस ओलम्पिकमा मर्चान्डको तेस्रो स्वर्ण पदक हो । उनले चौथो स्वर्ण पदक जित्ने सम्भावना प्रबल बनेको छ । यस बीचमा अमेरिकी केटी लेडेकीले १५०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितिन् । सो पदक लेडेकीको ओलम्पिकमा नवौँ स्वर्ण पदक हो । उनले ४ संस्करणमा ओलम्पिक स्वर्ण पदक जितेकी छिन् । लेडेकीको ओलम्पिकमा त्यो १२आँै पदकसमेत हो । सो स्पर्धामा फ्रान्सकी अनास्टासिया किरपिच्कीनोभाले रजत तथा जर्मनकी इसाबेल गोसले कास्य पदक जिते । मर्चान्डको २ स्वर्ण पदकले फ्रान्सलाई केही मिनेट तालिकाका शीर्ष स्थानमा राखे पनि पुरुष १०० मिटर फ्रिस्टाइलले ओलम्पिकमा अर्कै कथा लेखियो ।

चिनियाँ पान झीले स्वर्ण पदक मात्रै जितेनन् । ओलम्पिकमा १०० मिटर फ्रिस्टाइलमा विपक्षीलाई १ सेकेन्डभन्दा बढी समयले पछि पारेर संसारलाई अचम्ममा पारे । उनले ४६ दशमलव ४० सेकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरे । दोस्रो भएका अस्ट्रेलियाका केल चाल्मर्सले ४७.४८ तथा डेभिड पोपोस्कीले ४७.४९ मा पौडिएर कास्य पदक जिते । चीनको पौडीमा त्यो नै पहिलो स्वर्ण पदक थियो । यसले चीनलाई मिश्रित मेड्ली रिले तथा पुरुष मेड्ली रिलेमा स्वर्ण पदकको दाबेदारको रूपमा प्रस्तुत गरेको छ ।

पौडीभन्दा अघि सनसनी जिम्न्यास्टिकको अलराउन्डमा पनि भएको थियो । जापानका स्वर्ण पदक दाबेदार हासाकी दकाई सुरुवात देखि नै कमजोर देखिए । जापानका ओका सिनोसुनले स्वर्ण पदक जितेपछि दकाइमा अनौठो खुसी देखिएको थियो । सिनोसिले चीनका झाङ बोएङ र जाओ रोएटिङलाई पछि पारे ।

बुधबार भएको फेन्सिङको पुरुष टिम साब्रेमा दक्षिण कोरियाले स्वर्ण, हंगेरीले रजत तथा फ्रान्सले कास्य पदक जिते । क्यानोइ सालोमको महिला क्यानोइ एकलमा अस्ट्रेलियाका जेसिका फक्सले स्वर्ण, जर्मनीकी एलेना लिलिकले रजत तथा अमेरिकाकी एली लिजबर्थले कास्य पदक जिते ।

जुडोको महिला ७० किलोमा क्रोएसियाकी बारबरा माटिकले स्वर्ण पदक जितिन् । उनले फाइनलमा जर्मनीकी मियाम बुटकेरिटलाई हराइन् । अस्ट्रियाकी मिचेला पोलरेस र बेल्जियमकी गाब्रयिला विल्सले कास्य पदक जिते । पुरुष ९० किलोमा जर्जियाकी लक्ष बेकाउरीले स्वर्ण, जापानका मुराउओ सानसिरोले स्वर्ण तथा फ्रान्सका माक्सिम गइर र जर्जीयाका थियोडर सेलिडिसले कास्य पदक जिते ।

मार्टालाई रातो कार्ड

पेरिस ओलम्पिकमा लिजेन्डका सुख मात्र होइन दुःखका कथा पनि लेखिएका छन् । ३८ वर्षीय ब्राजिलियन स्टार मार्टाले स्पेनसँगको खेलमा रातो कार्डको सामना गरिन् । विश्व फुटबलमै एक आदर्श खेलाडी मार्टा सन् २००४ र २००८ मा उपविजेता हुन् । यसपटक ब्राजिललाई स्वर्ण दिलाएर बिदा हुने उनको चाहना थियो । अहिले ब्राजिलको टोली संघर्ष गरिरहेको छ ।
उनी विश्वकपमा सबैभन्दा बढी गोल गर्ने फुटबलर हुन् । उनले ६ पटकको सहभागितामा २३ खेल खेलेर १७ गोल गरेकी छिन् ।

अन्य खेलमा कमजोर सावित अमेरिका महिला फुटबलमा भने पहिलो चरणमा शतप्रतिशत सफलतासहित पहिलो चरण पार गर्न सफल भएको छ । अमेरिकाले बुधबारको खेलमा अस्ट्रेलियालाई २–१ ले हराएको हो । अमेरिकाले क्वार्टरफाइनलमा जापानको सामना गर्नेछ । स्पेनले कोलम्बिया, क्यानडाले जर्मनी तथा फ्रान्सले ब्राजिलको सामना गर्नेछन् ।
पहिलो चरणमा श प्रतिशत जित हात पारे पनि क्यानडाले ड्रोनबाट विपक्षीको प्रशिक्षण हेरेको कारण ६ अक घटाइएको थियो । त्यसका बाबजुद समूहमा उपविजेता हुन क्यानडा सफल भएको हो । क्यानडा साविक विजेता पनि हो ।

भर्खर विश्व खेलकुदमा प्रवेश पाएको दक्षिणी सुडानलाई १०३–८६ ले हराएको हो । यसै महिनाको सुरुआतमा भएको नाटकीय खेलमा १६ अंकले पछि परेको अमेरिकाले खेललाई उल्ट्याएर १०१–१०० को जित हात पारेको थियो । दक्षिणी सुडानका लागि अर्को चरण प्रवेश गर्न सर्बियालाई हराउन जरुरी छ ।

प्रतिक्रिया