नागरिकको हितमा काम गर्न बागमती कांग्रेसको सुझाव

हेटाैँडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिले पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आमनागरिकको हितमा काम गर्न सुझाव दिएको छ । बुधबार प्रदेश समितिले हेटौँडामा पार्टी कातर्फबाट सरकारमा सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरूका लागि बधाई तथा शुभकामना आयोजना गरेर यस्तो सुझाव दिएको हो ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीलाई भने, ‘पार्टीसँगको समन्वय र सहकार्यमा आमनागरिकको हितमा काम गर्नुहोस् । तपाईंहरूले गरेका कामबाट नै आगामी दिनमा पार्टीले मूल्यांकन गर्नेछन् ।’

कार्यक्रममा पार्टी प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोल, मकवानपुर जिल्ला सभापति बुद्ध लामा लगायतले नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीसँगको समन्वय र सहकार्यबाट सिंगो प्रदेशबासीको हितमा कामगर्ने प्रतिवद्धता जनाएको थिए ।

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा लामासहित आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकास मन्त्री हरिप्रभा खड्की चयन भएका छन् । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीमा श्यामबहादुर खड्का, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा विमल ठकुरी, युवा तथा खेलकुदमन्त्रीमा मीनकृष्ण महर्जन र मदुकुमार श्रेष्ठ विनाविभागीय मन्त्री चयन भएका छन् ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया