वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले पनि डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गरेका छन् । यसले ह्यारिसको उम्मेदवारीको सम्भावनालाई थप बल पुगेको छ ।
‘यसै हप्ताको सुरुमा मिशेल र मैले साथी कमला ह्यारिसलाई फोन गरेका थियौँ । हामीले उहाँलाई भनेका थियौँ, उहाँ संयुक्त राज्य अमेरिकाको एक शानदार राष्ट्रपति बन्नुहुनेछ र उहाँलाई हाम्रो पूर्ण समर्थन रहनेछ,’ ओबामाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ।
‘हाम्रो देशका लागि यो महत्वपूर्ण क्षणमा नोभेम्बरमा उहाँले जित्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौँ, सम्पूर्ण अमेरिकी शुभचिन्तक र मतदाता हामीसँग सामेल हुनुहुनेछ भन्ने हामी पूर्ण आशा गर्छौँ’, ओबामाले भनेका छन् ।
प्रभावशाली पूर्वराष्ट्रपति डेमोक्र्याटिक पार्टीका अन्तिम ‘हेभी हिटर’हरू मध्ये एक थिए । ह्यारिसले आइतबार नै राष्ट्रपति जो बाइडेनको समर्थन पाइसकेकी छन् ।
ओबामाको समर्थनले ह्यारिसको चुनावी अभियानको बढ्दो गतिलाई अझ बढाउनेछ । अन्तिम समयमा उम्मेदवारी घोषणा गरेदेखि नै समर्थनको आधारहरू बढ्दै गएका छन् ।– रासस, एएफपी
प्रतिक्रिया