पेरिस ओलम्पिकको उद्घाटन आज, सेन नदीमा हुँदै छ समारोह

पेरिस । फ्रान्सको पेरिसमा ओलम्पिक खेलकुद २०२४ को शुक्रबार (नेपाली समयअनुसार शनिबार बिहान) औपचारक उद्घाटन हुँदै छ । उद्घाटन अघि नै केही खेलहरू बुधबार सुरु भइसकेका छन् ।

पेरिस ओलम्पिकको फुटबलमा खेल सकिएको २ घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित भएको निर्णय सार्वजनिक भएको छ । विवाद र अन्योलतामा २–२ को बराबरीमा टुंगिएको खेल सकिएको २ घण्टापछि मोरक्कोसँग अर्जेन्टिना २–१ ले पराजित भएको निर्णय सार्वजनिक भएको हो ।
समूह ‘बी’को अर्जेन्टिनाले अन्तिम समयमा गरेको गोललाई भारले मान्यता नदिएपछि निर्णय विवादास्पद देखिएको हो । अर्जेन्टिनाले यो निर्णयलाई फुटबलकै बेइज्जत भनेको छ । प्रशिक्षक ज्याभिएर मास्केरानाले यस्तो बताएका हुन् ।

खेलको क्रममा दर्शकले तनाव सिर्जना गरेपछि यसको निर्णय खाली रंगशालामा २ घण्टापछि भएको थियो । निर्धारित अवधिभर खेल २–२ को बराबरीमा टुंगिएको मानिएको थियो । यो खेल जेफरोय गुइचार्ड रंगशालामा बिहीबार राति भएको थियो ।

मैदान र दर्शक दीर्घामा विवाद भएपछि दोस्रो हाफको अतिरिक्त समयको १६औँ मिनेटमा अर्जेन्टिनाका लागि क्रिस्टियन मेडिनाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । त्यसपछि दर्शकले मैदानमा उपद्रो मच्चाएका थिए । अर्जेन्टिनाको गोल लगत्तै रेफ्रीले खेल सकिएको निर्णय गरेका थिए । दुवै टिमले मैदान छोडेका थिए । खेलको अन्तिम निर्णय भने २ घण्टापछि आएको हो ।

पेरिस ओलम्पिक अन्तर्गत फुटबलका अन्य खेलमा समूह ‘बी’ मा इराकले युक्रेनलाई २–१ ले पराजित गरेको छ । समूह ‘डी’को जापानले पाराग्वेमाथि ५–० को जित हात पारेको छ । समूह ‘सी’को खेलमा उज्वेकिस्तान स्पेनसँग २–१ ले पराजित भएको छ भने डोमिनिक रिपब्लिक र इजिप्टले गोलरहित बराबरी खेलेका छन् । फ्रान्सले अमेरिकालाई ३–० ले हरायो ।

ओलम्पिक खेलकुदमै भएको रग्वी रेभेन्समा फिजीले अमेरिकालाई ३८–१२ ले हरायो । आयरल्यान्डले जापानसँगको खेलमा ४०–५ को जित हात पारेको छ । न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई १७–५ ले हरायो । अस्ट्रेलियाले केन्यामाथि २१–७ को जित हात पारेको छ । अर्जेन्टिनाले समाओ आइजल्यान्डलाई २८–१२ ले हरायो । फ्रान्सले उरुग्वेलाई २८–१२ ले हरायो ।

ह्यान्डबलको महिला स्पर्धामा डेनमार्कले स्लोभानियालाई २७–१२ ले हराएको छ । ब्राजिलले स्पने माथिको खेलमा १५–१० को जित हात पारेको छ ।
ओलम्पिकमा यसपटक ३२९ स्पर्धामा भिडन्त हुँदै छ । संसारका २०६ देशका खेलाडीको सहभागिता रहनेछ । साथै रुस र बेलारुसको केही खेलाडीले तटस्थ खेलाडीको रूपमा सहभागिता जनाएका छन् । आप्रबासी टोलीसमेत यस ओलम्पिकमा समावेश गरिएको छ ।

उद्घाटन समारोहमा संसारका १ हजार ५० खेलाडीलाई डुंगामा राखिनेछ । पहिलोपटक एउटा निश्चित रंगशालमा बाहिर खुला स्थानमा ओलम्पिक खेलकुदको उद्घाटन हुन लागेको हो । यो उद्घाटन समारोह नै सेन नदीमा हुन लागेको हो ।

उद्घाटन समारोहमा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व भने प्रथम महिला जिल बाइडेनले गर्नेछिन् । ३ घन्टा लामो उद्घाटन समारोहमा संसारका थुप्रै नेतालाई आमन्त्रण गरिएको छ । युरापेली युनियनका धेरै नेताहरू सो ओलम्पिकको उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ । युक्रेनका राष्ट्रपति भ्लाडिमिर पुटिन पनि सो उद्घाटन समारोहमा उपस्थित हुनेछन् ।

बेलायती प्रधानमन्त्री केइर स्टेइमर पनि सो समारोहमा उपस्थित हुनेछन् । इजरायलका राष्ट्रपति इजरायल हेजगग पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् । प्यालेस्टाइन ओलम्पिक कमिटीको प्रतिनिधित्व गर्दै जिब्रिल अबाउसले प्यालेस्टाइनी नेता मोहम्मद अब्बासको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
साउदी अरेबियाका राजकुमार मोहम्मद बिन समाम पनि सो उद्घाटन समारोहमा उपस्थित हुनेछन् । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति सेख मोहम्मद बिन जायेह तथा कतारी राजा तामिम बिन हमाम भने खेल हेर्न नै पुगेका छन् ।

चिनिया राष्ट्रपति सी जिपिङ उद्घाटन समारोहमा उपस्थित नहुने भएका छन् । उनको साटो उपराष्ट्रपति हान जियाङ पेरिस पुगेका छन् । गाबोन, सेनगल र नाइजरका राष्ट्रप्रमुख पनि उद्घाटन समारोहमा बोलाइएका छन् । साथमा बेलायती राजप्रसादमा धेरै सदस्य पेरिस पुगेका छन् । ओलम्पिक खेलकुद ११ अगस्टमा सकिनेछ ।

प्रतिक्रिया