हेटौँडा । अघिल्ला वर्षहरूको वर्षे बिदाको समयमा विद्यालयहरू सुनसान हुने गर्थे । बालबालिकाहरू गाउँघरमा अभिभावकसँगै खेतबारीमा व्यस्त हुन्थे । यसपटक मकवानपुरगढी गाउँपालिकाको माहौल त्यस्तो छैन । गाउँपालिकाभरिका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू घरमा त के गाउँटोलमै छैनन् ।
जम्मा ९ वटा माध्यमिक विद्यालय रहेको मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका सबै विद्यालयका कक्षा १० का विद्यार्थीहरू साउन २ गतेदेखि क्लोज क्याम्पमा छन् । क्लोज क्याम्पको लागि पालिकाले ७ नम्बर वडामा रहेको जनता माध्यमिक विद्यालय चयन गरेको छ । झन्डै २०० विद्यार्थीहरू सोही विद्यालयको कम्पाउन्डभित्र साउन महिनाभरि विशेष बन्द शिविरमा रहनेछन् । बालबालिकालाई यसरी घरदेखि टाढा बन्द शिविरमा राख्नुको उद्देश्य हो, एसइईको नतिजा सुधार ।
२०८० सालको एसइई परीक्षामा पालिकाभरिबाट १५ प्रतिशत विद्यार्थी मात्र ग्रेडिङमा परे । शिक्षणको पृष्ठभूमिबाटै आएका पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र प्रमुख प्रशासकीय अधिकृत नविन गङतान लामाका लागि यो सहज नतिजा पक्कै थिएन । पालिकाले सोही नतिजालाईसमेत मध्यनजर गर्दै यसपटक साउन महिनाभरि पालिकाभित्रका सबै माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीलाई एकैठाउँमा ‘क्लोज क्याम्प’मा राख्ने व्यवस्था मिलायो । बन्द शिविरले बालबालिकालाई पढाइप्रति रुचि जनाउने र सामाजिक सीपको समेत विकासमा सहयोगी हुने गाउँपालिकाका शिक्षा फोकल पर्सन कमल फुयाल बताउँछन् ।
के हुन्छ ‘क्लोज क्याम्प’मा ?
बन्द शिविरभित्र रहने विद्यार्थीका लागि दैनिक कार्यतालिका निर्धारण गरिएको छ । हरेक दिन बिहान साढे ४ बजे सबै विद्यार्थीहरू उठिसक्नुपर्छ । नित्यकर्मपछि बिहान ६ बजे दैनिक व्यायाम हुन्छ त्यसपछि बिहानको खाजा । बिहानको खाजापछि विद्यार्थीहरू प्रायः स्वअध्ययनमा व्यस्त हुन्छन् । आवश्यकताअनुसार उनीहरू शिक्षकसँग परामर्श लिन्छन् । खानापछि गणित, विज्ञान र अंग्रेजी विषयमा २–२ घण्टाका कक्षाहरू हुन्छन् । साँझ नियमितजसो परीक्षा हुन्छ । सोही परीक्षाको आधारमा विद्यार्थीहरूलाई पृष्ठपोषण दिइन्छ । बेलुकाको खानापछि विद्यार्थीहरू फेरि स्वअध्ययनमा जुट्छन् र राती १० बजेपछि सुत्ने तरखरमा लाग्छन् ।
‘क्लाकेज क्याम्प’को व्यवस्थापन र अनुगमन
२०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस एड) को सहयोगमा निर्मित जनता माध्यमिक विद्यालयको अत्याधुनिक भवनमा विशेष बन्द शिविर चलिरहेको छ । छात्र र छात्रालाई छुट्टाछुट्टै ब्लकमा राखिएको छ । उनीहरूका लागि कक्षा पनि अलग्गै चलाइएको छ ।
गाउँपालिकाले सुरक्षाका लागि महिलासहित ४ जना नगरप्रहरीलाई चौबिसै घण्टा ड्युटीमा राखेको छ । विद्यार्थीहरूलाई विद्यालयको कम्पाउन्डबाहिर निस्कने अनुमति हुँदैन । अभिभावकले शनिबार मात्र विद्यार्थीसँग भेट्न पाउने व्यवस्था गरिएको छ ।
पालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूले शिविरमा ४–४ दिनको पालो लगाएका छन् । प्रत्येकले आ–आफ्नो पालोमा शिविरमै बसेर विद्यार्थीको गतिविधिको अनुगमन गर्ने गर्दछन् । आफ्नो पालो पूरा गरिसकेका चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरबहादुर गोलेले पालिकाले थालेको यो प्रयासलाई अत्यन्तै राम्रो भन्दै प्रशंसा गरे । उनले भने, ‘घर छोडेर नयाँ ठाउँमा बस्नुपर्दा सुरुआतमा केही दिन बालबालिकामा समस्या देखिए पनि परामर्शपछि अहिले त्यस्तो समस्या छैन । पढाइका हिसाबले विद्यार्थीको क्षमताअनुसार वर्गीकरण गरेर आधारभूत ज्ञान दिइएकाले धेरै नै सुधार भएको महसुस गरेका छौँ ।’
विद्यार्थीको स्वास्थ्यमा देखिन सक्ने समस्यालाई ध्यान दिएर विद्यालय नर्सलाई शिविरमै राखिएको छ । ६ जना विषयगत शिक्षकलाई पनि विद्यार्थीसँगै आवासीय सुविधासहित राखिएको छ । प्रमुख प्रशासकीय अधिकृत नबिन लामा आफैँ दैनिक बिहान बालबालिकासँगै समय बिताउँछन् ।
‘क्लोज क्याम्प’को आवश्यकता
‘मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा तय गरेको मकवानपुरगढी गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँछन् पालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान । तर एसइई परीक्षाको नतिजाको तथ्यांकले भने यस्तो देखाउँदैन । १५ प्रतिशत विद्यार्थी मात्र ग्रेडिङमा परिरहँदा पालिकाले आगामी वर्षको नतिजामा उल्लेख्य सुधारको अपेक्षा गरेको छ । शिक्षा शाखा प्रमुख राम घलान भन्छन्, ‘हाम्रो यो प्रयास नतिजा सुधारकै लागि हो । शिक्षामा सुधार नहुँदासम्म अन्य क्षेत्रमा पनि अघि बढ्न नसकिने भएकाले नै पालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको हो ।’ सुकौरामा कक्षा १० का बालबालिका बन्द शिविरमा रहिरहँदा अन्य कक्षाका विद्यार्थीका लागि पनि पालिकाले विशेष व्यवस्था गरेको घलानको भनाइ छ । उनी भन्छन्, ‘६ देखि ८ सम्मका सबै विद्यार्थीहरूका लागि आआफ्नै विद्यालयमा नियमित कोचिङ कक्षा सञ्चालन भइरहेको छ । त्यसका लागि अभिभावकले शुल्क तिर्नु पर्दैन, पालिकाले नै बेहोर्छ ।’
मकवानपुरगढी गाउँपालिकाले एसइईका लागि बन्द शिविर सञ्चालन गरिरहँदा अन्य कक्षाका लागि पनि विशेष व्यवस्था गरिरहेको छ । वर्षे बिदापछि बन्द शिविरबाट बाहिर आए पनि सम्बन्धित विद्यालयमा कक्षा ८ र १० का लागि नियमित कोचिङ कक्षा सञ्चालन भइरहने प्रमुख प्रशासकीय अधिकृत नबिन गङतान लामाले बताए । वर्षैभरि विद्यालयमा चल्ने कोचिङ कक्षाका लागि शिक्षकको पारिश्रमिक पालिकाले नै बेहोर्नेगरी नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ । ‘अहिले १ महिनाको बन्द शिविरका लागि मात्र करिब १६ लाख रुपैयाँ छुट्याइएको छ’, लामाले भने, ‘शिक्षाका लागि मात्रै यस वर्ष गाउँपालिकाले ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।’
खुसी छन् विद्यार्थी र अभिभावक
घर छोडेर शिविरमा १ महिनासम्म बस्नुपर्ने कुराले सुरुमा अत्यास लागे पनि शिविरभित्रको वातावरणले आफूहरू खुसी रहेको शिविरमा रहेका विद्यार्थीले प्रतिक्रिया दिएका छन् । रानीसेरा माध्यमिक विद्यालय, मकवानपुरगढी–१ कि छात्रा सुनिता भोम्जनले नयाँ साथीसँग घुलमिल भएर पढ्न पाएकोमा अझै धेरै खुसी लागेको बताइन् ।
‘सुरुमा आउँदा त कोही पनि बोल्दैनन्जस्तो लागेको थियो तर अहिले नयाँ साथीसँग एकदमै रमाइलो भइरहेको छ’, उनले भनिन् । चण्डिका माध्यमिक विद्यालयकी छात्रा भवानी खड्काले बन्द शिविरमा फरक तरिकाले सिक्न पाएकोमा खुसी व्यक्त गरिन् । खड्काले भनिन्, ‘कतिपय सामान्य कुराहरू नजानेर हामीलाई समस्या परिरहेको रहेछ । यहाँ एकदमै आधारभूत कुराहरूदेखि सिकाइरहनुभएको छ ।’
अभिभावक पनि पालिकाले बालबालिकाहरूका लागि बन्द शिविरको व्यवस्था गरेकोमा खुसी देखिएका छन् । शिविरले बालबालिकाको पढ्ने बानीमा विकास गराउने जनता माध्यमिक विद्यालयका अभिभावक सविना रुम्बाले बताइन् । ‘बिदामा घरमा भएको भए हामीले भनेर केटाकेटीले पढ्दैनथे, जतिखेरै मोबाइलमा ध्यान हुन्थ्यो । पालिकाले वर्षैभरि यसरी राख्ने व्यवस्था मिलाए अझ राम्रो हुन्छ’, रुम्बाले भनिन् ।
मकवानपुर
प्रतिक्रिया