मुम्बई । साउथ सुपरस्टार प्रभास यतिबेला आफ्नो फिल्म ‘कल्की २८९८ एडी’ को सफलतामा रमाइरहेका छन् । नाग अश्विनको निर्देशनमा बनेको सोे फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । प्रभास छिटै आफ्नो अर्को फिल्मको तयारीमा व्यस्त हुनेछन् ।
प्रभासले मारुतीको निर्देशनमा बन्न लागेको हरर कमेडी फिल्म ‘द राजा साब’मा काम गर्दैछन् । साथै प्रभासले हनु राघवपुडीसँग नयाँ फिल्मका लागि सहकार्य गरेका छन् । खबरका अनुसार हनु राघवपुडीसँगको प्रभासको नयाँ फिल्म पिरियड रोमान्टिक एक्सन ड्रामा हुनेछ । यतिबेला सामाजिक सञ्जालमा फिल्ममा मुख्य नायिकाको भूमिकामा रहेकी नायिकाको चर्चा भइरहेको छ । निर्माताहरूले फिल्ममा पाकिस्तानी अभिनेत्री सजल अलीलाई मौका दिने भएका छन् ।
सजलले यसअघि दिवंगत बलिउड अभिनेत्री श्रीदेवीको फिल्म ‘मम’मा काम गरिसकेकी छिन् । सो फिल्ममा उनले श्रीदेवीको छोरीको भूमिका निभाएकी थिइन् । प्रभासको आगामी फिल्ममा सजलको खबर पुष्टि हुन बाँकी नै छ । तथापि यो खबरले यतिबेला निकै चर्चा बटुलीरहेको छ ।
संगीतकार विशाल चन्द्रशेखर यस फिल्मका लागि हनु राघवपुडीसँग फेरि सहकार्य गर्ने बताइएको छ । फिल्म स्वतन्त्रतापूर्वक रजाकार आन्दोलनमा आधारित हुने बताइएको छ । फिल्मको छायांकन यसै वर्षबाट सुरु हुने आशा गरिएको छ ।
प्रतिक्रिया