देउडामा स्वर भर्ने सुदूरकी कृष्णा

बाल्यकालदेखि नै गीतसंगीतमा औधि चाहना राख्ने डोटीकी कृष्णा सिराडी यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा उदाउँदै छिन् । गीत–संगीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवद्र्धन गर्न सक्रिय सिराडी पढाइमा पनि उत्तिकै अब्बल छिन् ।

सुर्खेत । प्रायः देउडा भन्ने बित्तिकै सुदूरपश्चिमलाई सम्झिन्छौँ । सुरुसुरुमा देउडा गीतहरू सुदूरपश्चिमको सेरोफेरोमा मात्र सीमित थियो । तर, अहिले देउडा अन्तर्राष्ट्रियकरण भएको छ । नेपालको अधिकांश जिल्लाहरूमा आफ्नो प्रभाव बढाएको देउडाले लोकप्रियता पनि कमाउँदै गएको छ । सुदूरपश्चिमका गाउँघरमा गुन्जिने देउडा संसारभर गुन्जिँदै गएको छ । युवाहरूमा पनी देउडाको प्रभाव बढ्दै गएको पाइन्छ । अन्य गीतसंगीतको तुलनामा देउडाले आफ्नो छुट्टै पहिचान बनाएको पाइन्छ । यही देउडालाई माया गरेर आफूलाई सुदूरकी चेली भनेर चिनाउने गायिका कृष्णा सिराडी पछिल्लो समय देउडामा स्थापित कलाकार हुन् । किशोरी अवस्थामै देउडा भाका गुनगुनाउन सुरु गरेकी कृष्णाले आफ्नो संस्कृतिलाई विश्वसामु चिनाउन ठुलो योगदान गरेकी छन् ।

उनको बाल्यकालमै रेडियोमा गीत सुन्दा देउडाका टुक्का, भाका गुनगुनाउन थालिन् । त्यसपछि उनको देउडामै लगाव बढ्न थाल्यो । बाल्यकालमै गायन विशेषगरी देउडा गीतप्रति आकर्षित कृष्णाले किशोरी अवस्थामै पहिलोपटक गीत रेकर्ड गरिन् । अहिले देउडामा चर्चित गायिका बनेकी छन् । डोटेली भाषा, ठाडीभाकामा समेत उनी पोख्त छिन् । उनलाई अहिले स्थानीय मेला महोत्सवदेखि विभिन्न सांगीतिक कार्यक्रममा गीत गाउन भ्याइनभ्याइ हुन्छ । उनी सुदूरपश्चिममा देउडामै चर्चा बटुल्दै छिन् । एकातिर छोरीको प्रतिभाले घरपरिवार पनि खुसी अर्कोतिर आम्दानी पनि राम्रै भइरहेको छ । २०७२ सालमा चोखो माया फेरी नामको पहिलो देउडा गीत निकालेकी सिराडीले त्यसयता थुप्रै गीत गाइसकेकी छन् । सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिएकी कृष्णाले सुदूरपश्चिम विश्वविद्यालयमा समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी छन् । २०७२ यता उनेले २०० गीतमा आफ्नो स्वर भरिसकेकी छन् । ‘बास घुघुती’, ‘इजुको कोल छुट्यो’, ‘माइतकी सम्राई’, ‘सालीको बैंश’, ‘झल्का लाई गै साली’, ‘आजभोलि मायालु’ लगायतका उनका अत्यधिक रुचाइएका गीत हुन् । उनका दर्जन बढी गीत निकै चर्चित छन् ।

ग्रामीण भेकमा गाइने भाका र सोही स्तरका टिपिकल शव्दमार्फत सुदूरपश्चिमलाई चिनाउन उनले बढी जोड दिँदै आएकी छन् । अन्यत्रको तुलनामा सुदूरपश्चिममा छोरीलाई गायन क्षेत्रमा लाग्न सहज पक्कै थिएन । भेदभावले जरा टेकेको सुदूरमा उनले संघर्ष र समाज परिवर्तनका लागि निरन्तर प्रयास गरिन् र गायनमा जम्दै गएकी छन् । घरबाट बाहिर निस्किनै मुस्किल हुने अवस्थामा सिराडीले सुरुमा सञ्चार क्षेत्र हुँदै गायनमा प्रवेश गरेकी हुन् । त्यतिबेला छिमेकमा एक्लै निस्कन पनि मुस्किल थियो । सांगीतिक कार्यक्रम र गीत गाउन जाने त धेरै असम्भवको कुरा हो । सिराडी भन्छिन्, गीतसंगीत आफैँमा परिवर्तन क्षेत्र हो । सञ्चार जगतबाट मैले गायनको यात्रा सुरु गरेँ । पत्रकारिता क्षेत्रमा जाने ठुलो रहर थियो । तर, गीतसंगीतमा ध्यान मोडियो । पहिलोपटक गीत रेकर्डपछि स्रोता दर्शकले दिएको प्रतिक्रिया र मायाले मलाई थप ऊर्जा मिल्यो । घरपरिवारको पनि साथ पाएँ ।

पछिल्लो समय देउडामा फैलँदो विकृति र मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनी भन्छिन्, अहिलेको नयाँ जेनेरेसनले मौलिकतालाई बिर्सिएर, ¥याप पपको नक्कल गरेर देउडामा मिक्स गर्दा मौलिकता खस्किएको छ । यो पश्चिमेली संकृतिको पनि प्रभाव हो । सबै युवाहरू र देउडाप्रेमी मौलिकतातर्फ केन्द्रित हुनुपर्छ । बढ्दो आधुनिकतासँगै देउडाले अस्तित्व गुमाउँदै गएको उनको दावी छ । देउडाबाटै गायनमा उदाएकी युवती कृष्णा आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउन सफल भएकी छन् । सानोमै रेडियो सेटमा गीत सुनेर कापीमा ती शब्द भाका उतार्ने सिराडी गीत मात्रै नगाएर फोटोग्राफी, भिडियोग्राफी, अडियो र भिडियो इडिटिङ र म्युजिक भिडियो सुटिङसँगै निर्देशनमा पनि संलग्न छिन् । आफू गाउने मात्र नभएर गाउन चाहने नयाँ पुस्तालाई प्रेरित गरिरहेकी उनले सुदूरपश्चिम इन्टरटेनमेन्ट म्युजिक अवार्ड, विशाल राष्ट्रिय म्युजिक अवार्ड, रारा राष्ट्रिय म्युजिक अवार्डजस्ता थुप्रै राष्ट्रिय अवार्ड जितेकी छन् ।

‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने हेतुराख्ने कृष्णा सुदूरपश्चिममै बसेर लोक साहित्य तथा गायनमा सक्रिय छन् । कृष्णा अहिले देउडा पारखीहरूमा मनमनमा पस्न सफल छन् । पढाइसँगै सांगीतिक क्षेत्रमा अब्बल कृष्णाले विभिन्न प्रतिष्पर्धा र पुरस्कारहरू हात पारिसकेकी छन् । डेउदा प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी गायिका एक दशकदेखि अविराम देउडा गीतमा भिजेकी सिराडी म्युजिक भिडियो र भिडियो निर्देशनमा पनि उत्तिकै निख्खार छन् । उनका गीतमा प्रायः सुखदुःख, माया–पिरती, दर्द र पीडा मिसिएका हुन्छन् । धनगढीलाई कर्मथलो बनाएर संगीत कर्ममा लम्किएकी सिराडी भिडियो निर्देशनमा सुदूरपश्चिमकै महिलाहरूको पहिलो पंक्तिमा पर्छिन् । उनले भनिन्, ‘गाउने सँगसँगै आफँैले निर्देशन गरेको देउडा गीतको म्युजिक भिडियो बजारमा ल्याए । त्यसपछि क्यामेरासँग पनि फेस गर्न बानी बस्यो । अहिले निर्देशनतर्फ पनि हात हालेकी छु ।’

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया