जानकी आँखा अस्पताल विवादको कारण

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालनमा रहेको जनकपुरधामस्थित जानकी आँखा अस्पताल अहिले विवादमा रहेको छ ।

जानकी आँखा अस्पतालमा देखिएको बेथितिको विषयमा अस्पतालमै कार्यरत एक चिकित्सकले आवाज उठाएपछि उनलाई हटाउन प्रपञ्च हँुदा अहिले अस्पताल विवादित बनेको छ ।

अस्पतालको बेथितिविरुद्ध बोल्ने डा. अमित यादवलाई हटाउन अध्यक्षले षड्यन्त्र सुरु गरिएको छ । डा.यादव विगत ५ वर्षदेखि जानकी आँखा अस्पतालमा कार्यरत चिकित्सक हुन् । रेडक्रसका अध्यक्ष नरेश सिंहले अनेक हत्कण्डा रचेर पनि डा.अमितलाई निकाल्न नसकेपछि तलब रोकिदिएका छन् ।

जनकपुरधामको रामानन्द चोकस्थित जानकी आँखा अस्पताल सञ्चालक समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुने व्यवस्था छ । रेडक्रसको जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालन समितिका निवर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख (मेडिकल डाइरेक्टर) पदेन सदस्य–सचिव रहने व्यवस्था छ ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष छन् धनुषा रेडक्रसका अध्यक्ष नरेशप्रसाद सिंह । जिल्ला रेडक्रसका अध्यक्षको नाताले अस्पतालमा पदेन उपाध्यक्ष पनि उनी नै भए । निवर्तमान अध्यक्ष हुनुपर्ने ठाउँमा पूर्व अध्यक्ष डा.विजय सिंहलाई पदेन सदस्य चयन गरिएको छ । सञ्चालन समितिमा बहुमत भएपछि सिंहले एकलौटी गर्न थालेको आरोप त्यहाँ कार्यरत डाक्टर तथा पदाधिकारीको छ ।

५ वर्ष्अघि छात्रवृत्तिमा टिचिङ अस्पतालबाट एमडी पढेका डा. अमित यादव स्वास्थ्य मन्त्रालयको सिफारिसमा जानकी आँखा अस्पतालमा काम गर्न थालेका हुन् । त्यसबेला जानकी आँखा अस्पताल सञ्चालन समितिका अध्यक्ष थिए, डा. विजय कुमार सिंह । डा. यादवले २ वर्षको करार सम्झौताको आधारमा काम सुरु गरेका थिए । उक्त करारको अवधि समाप्त नहुँदै डा. सिंहको पदावधि समाप्त भयो ।

सञ्चालन समितिका अर्का अध्यक्ष गंगाराम यादवले डा.अमितको म्याद थप गरिदिए २ वर्षका लागि । डा.अमितको अर्को म्याद समाप्त नहुँदै अध्यक्ष यादवलाई पदमुक्त गरी रेडक्रसले उपाध्यक्ष नरेशप्रसाद सिंहलाई सञ्चालन समितिको अध्यक्ष पदमा नियुक्त गरिदियो ।

सिंहले पहिलेदेखि नै डा.यादवको तलबमा बार्गेनिङ गरिरहेका थिए । उनले चाहे अनुसार डा. अमितले साथ दिएका थिएनन् । आफैँ अध्यक्ष भएर आएपछि सिंहले डा.यादवलाई अस्पतालबाट निकाल्ने प्रपञ्च सुरु गर्यो । सोही क्रममा सार्वजनिक भएको हो, अस्पतालमा व्याप्त चरम बेथिति ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष नरेश सिंहले केन्द्रीय रेडक्रसका कर्मचारीलाई प्रभावमा पारेर आर्थिक हिनामिनामा लागेका छन् । खरिद ऐन विपरित करोडौँ रकम बराबरको सामान किनेर भुक्तानी गर्न खोज्दा कोषाध्यक्ष धीरेन्द्रमोहन झाले अस्वीकार गरेपछि विवाद बाहिर आएको हो ।

गैरकानुनी प्रक्रियाबाट खरिद गरिएको सामानको भुक्तानी गर्न नमिल्ने भन्दै कोषाध्यक्ष झाले अडान लिएपछि उनलाई नै हटाउन अर्को प्रपञ्च सुरु भएको छ ।

सञ्चालन समितिका अध्यक्ष सिंहले करिब १ करोड रकम बराबरको सामान नियम विपरीत खरिद गरेको झाको भनाइ छ । उक्त रकम भुक्तानी गर्न नमानेपछि आफूलाई बेवास्ता गरी केन्द्रीय रेडक्रसले अस्पतालका प्रमुख र एकाउन्टेन्टलाई अख्तियारी दिएर भुक्तानी गर्न लगाएको छ । जुन कानुन विपरीत काम भएको जिकिर झाको छ ।
अस्पताल सञ्चालन समितिका कोषाध्यक्ष झा र डा. यादवले आन्तरिक रूपमा अस्पतालको बेथिति विरुद्ध संघर्ष गरेर पनि नसकेपछि नागरिक समाजलाई गुहारेका छन् ।

प्रतिक्रिया