जनकपुरधाम । मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेसका ११ वटै मन्त्रालयमा पुगेर छडके हानेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आइतबार मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको छड्के निरीक्षण अवलोकन गरेका हुन् । प्रदेश सरकारको कार्यालयहरूमा कर्मचारीहरूको लापरबाही बढेको, असारमसान्तपछि निकायहरू बिनाकर्मचारी बनेको, हाजिरी र उपस्थितिमा लापरबाही बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले आइतबार बिहानै मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको अनुगमन गरेका हुन् ।
गुरु पुर्णिमाको दिन परेकाले बिदासरह नै कर्मचारीहरू निश्चिन्त रहेका दिन भएको छड्के पश्चात मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही रहेको पाइएको बताए । हाजिरगरी गायब हुने, एकैदिन प्याकेजमा हाजिर गर्ने, अनुपस्थित रहेको दिनको पनि हाजिर गर्ने र मुख्यमन्त्री कार्यालय भवनको तलदेखि माथिल्लो तल्लासम्म पुग्दै गर्दा पनि हाजिर गर्न भ्याएका उदाहरणहरू मुख्यमन्त्रीले आँखाकै अगाडि भेटे ।
उनले कर्मचारीहरूमा खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिनेजस्ता लापरबाही पाइएको बताउँदै अब उपरान्त यस्तो पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । प्रदेश सरकारकै कर्मचारीहरूमा त्रुटी भेटिएपछि मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयको कर्मचारीलाई पत्र लेखेर जवाफसमेत मागेका छन् ।
पत्रमा मुख्यमन्त्री सिंहले हरेक मन्त्रालयमा देखिएको समस्या लेख्दै त्यसको कारणबारे जवाफ मागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार पहिलो दिनको अनुगमनमा कर्मचारीमा धेरै लापरबाही पाइएकाले देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ । कार्यालय समय सुरु भए लगत्तै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, अर्थ, गृह, भौतिक, सिँचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयको मुख्यमन्त्री सिंहले निरीक्षण गरेका हुन् ।
प्रतिक्रिया