रुकुममा श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमान फरार

रुकुम पश्चिम । आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरी रुकुम पूर्वमा श्रीमान फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार जिल्लाको भूमे गाउँपालिका– ६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरी फरार भएको जानकारी दिए ।

ओलीले श्रीमतीको हत्यापछि आफ्नो पाँच वर्षीय छोरा आयुस ओलीलाई आफूसँगै लिएर फरार भएको बताइएको छ । उनले शुक्रबार राति श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ ।

उक्त घटनाबारे प्रहरीले श्रीमतीको हत्यामा संग्लग्न भनिएका ओलीलाई खोजिरहेको र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया