भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकहरूको आगमन बढ्दै गएर कोरोनाकाल अघिकै अवस्थामा पुगेको छ । पछिल्लो ६ महिनाको अवधिमा २ लाख ४ हजार ६९४ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । जसमध्ये १ लाख ५२ हजार ५२० जना भारतीय पर्यटक हुन् भने ५२ हजार १७४ तेस्रो देशका पर्यटक हुन् । कोरोना कालअघि अर्थात सन् २०१९ को सुरुको ६ महिनामा २ लाख ५ हजार विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । तर, आन्तरिक पर्यटकको आगमनले भने अझै लय समात्न सकेको छैन । कोरोनाकाल अघि अर्थात सन् २०१९ को सुरुको ६ महिनामा ७ लाख ३३ हजार जना आन्तरिक पर्यटक लुम्बिनी घुम्न आएका थिए ।
तर, सन् २०२४ को सुरुको ६ महिनामा जम्मा ३ लाख ४४ हजार ५२९ आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । कोभिड अघि मात्र नभई लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन गत वर्षको भन्दा पनि घटेको छ । एकातिर एकपटक पुगेका आन्तरिक पर्यटकहरू दोहोर्याएर लुम्बिनी भ्रमण गर्न अनिच्छुक हुने गरेको देखिएको छ भने अर्कोतर्फ विदेशी पर्यटकहरू पनि सकेसम्म रात बिताउन अन्यत्रै जाने गरेको देखिएको छ ।
जसका कारण लुम्बिनीमा आएका पर्यटकहरूबाट स्थानीय होटल व्यवसायीहरूले खासै लाभ लिन सकेका छैनन् । पर्यटकबाट स्थानीय होटल व्यवसायीहरूले अपेक्षित लाभ लिन नसक्नुका कारण स्पष्ट छन् । कतिपय कारणहरू समाधान गर्न सकिने खालका छन्, कतिपय कारणहरूको समाधान स्थानीय होटल व्यवसायीहरूको बुताभित्र छैन ।
लुम्बिनी क्षेत्रमा पर्यटकहरूले सकेसम्म रात बिताउन नचाहनुको एउटा कारण फोहोर र दुर्गन्ध हो । लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैँचा र मुख्य प्रवेशद्वारमा फोहोरको दुर्गन्ध सहीसक्नु छैन । लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहोर उत्पादन हुने गरेको छ । लुम्बिनी परिसर नजिकै भन्दा ८० बढी होटेल तथा रेस्टुरेन्ट, १ हजार बढी थोक तथा खुद्रा पसल छन् । यी होटल तथा पसलबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन उचित ढंगले हुन सकेको छैन । यसैगरी लुम्बिनी आउने अधिकांश भारतीय पर्यटक सोही दिन फर्कन्छन् ।
बाँकी पर्यटक सोही दिन पोखरा तथा मुक्तिनाथ प्रस्थान गर्छन् । तेस्रो मुलुकका पर्यटकहरू पनि धेरैजसो भारत हुँदै आउँछन् र बास बस्न भारत नै फर्कन्छन् । गौतमबुद्धसँग संबन्धित अन्य सम्पदाहरूको समेत भ्रमण गर्ने एकीकृत प्याकेजअन्तर्गत भारतका ट्राभल एजेन्सीमार्फत आउने विदेशी पर्यटकहरू केही घण्टा मात्रै लुम्बिनीमा भुल्छन् ।
अथाह संभावना हुँदाहुँदै पनि लुम्बिनी क्षेत्रले पर्यटन उद्योगबाट खासै लाभ लिन नसक्नुको मुख्य कारण व्यवस्थापकीय कमजोरी हो । पहिलो कुरा त स्थानीय सरकारले सरसफाइमा ध्यान दिन सकेको देखिँदैन । दोस्रो कुरा स्थानीय होटलहरू पर्यटक मैत्री बन्न सकिरहेका छैनन् । पोखराको तुलनमा लुम्बिनी क्षेत्रका होटलहरूको सेवा सुविधा कम छ, शुल्क बढी छ । त्यसो त पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवन खण्ड स्तरोन्नतिको काममा भइरहेको ढिलाइका कारण पनि लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायमा ठूलो असर पुगेको छ । आन्तरिक पर्यटकहरूको संख्या व्यापक रूपमा घट्दै जानुकोे मुख्य कारण यही हो । आन्तरिक पर्यटकहरू आकर्षित हुने तथा भुल्ने भनेको मनोरन्जनका लागि पनि हो, तर मनोरन्जन स्थलहरूको विकास लुम्बिनी क्षेत्रमा हुन सकिरहेको छैन । बुटवल क्षेत्रमा सञ्चालनमा आएका केबुलकारहरूले उल्लेख्य रूपमा भारतीय पर्यटक आकर्षिक गर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुन नसकेका कारण आफूहरूको लगानी डुब्यो भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरू हरेक महिना डेलिगेसनका लागि सिंहदरबार धाउने गरेका छन् । तर, आफ्ना होटलहरूको सेवा सुविधा तथा शुल्कलाई पर्यटक मैत्री बनाउने, फोहोर व्यवस्थापनका लागि स्थानीय सरकारलाई सहयोग तथा दबाब दिनेतर्फ उनीहरूको ध्यान खासै गएको देखिँदैन ।
प्रतिक्रिया