सुर्खेत । निरन्तरको वर्षाका कारण कर्णाली प्रदेशको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न ठाउँमा ठूलो भौतिक क्षति भएको छ । सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण कैयौँ बस्ती पहिरो र डुबानको उच्च जोखिममा परेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा डुबान परेर बस्ती जलमग्न भएको छ । विभिन्न ठाउँ जलमग्न हुनुका साथै सडक अवरुद्ध भएका छन् । लगातारको बर्सात्का कारण सुर्खेत उपत्यकाको तल्लो भाग जलमग्न बनेको छ ।
३ दिनदेखि आएको अविरल वर्षाका कारण देशमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रदेशका मुख्य ५ राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी करिडोरका सडक अवरुद्ध छन् । कर्णाली राजमार्गमा ४, मध्य पहाडीमा ४ र राप्ती राजमार्गमा २, मदन भण्डारीमा १ र भेरी करिडोरका ३ ठाउँमा बाढी पहिराले सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएपछि २ दिनदेखि यात्रु अलपत्र परेका छन् । आइतबार पनि निरन्तर वर्षा नरोकिएपछि सडक सञ्चालनमा समस्या भएको छ । पहिरोका कारण विभिन्न बस्तीहरू उच्च जोखिममा परेका छन् । भेरी करिडोरको जाजरकोट डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको नलगाड–१०, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ दमाचौर र डोल्पाका केही स्थानमा खोलामा पानीको बहाव बढेको र पहिरो खस्दा करिडोर अवरुद्ध बनेको छ ।
यता रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ को रानिकोट रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटिनीमा सडकमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ । त्यस्तै राप्ती राजमार्गको दाङ सल्यान खण्डमा कपुरकोटस्थित पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गसहित विभिन्न ठाउँमा निरन्तर पहिरो खस्दा यात्रा अवरुद्ध हुनुका साथै जोखिमपूर्ण बनेको छ । भने यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
गाउँ नै पहिरोको उच्च जोखिममा, २ घर परिवार विस्थापित
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ बाँके गाउँ र पहिरोको कारण माझगाउँ उच्च जोखिममा रहेको छ । पहिरोका कारण गाउँका करिब ६० घर नै जोखिममा रहेका छन् । जथाभावी डोजर लगाएर बाटो खनिएकाले गाउँ नै जोखिममा परेको स्थानीय बताउँछन् । उक्त गाउँमा भूकम्प पीडितका अस्थायी आवास, विद्यालयको अस्थायी सिकाइ केन्द्रमा समेत क्षति पुगेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आठविसकोट नगरपालिका–१४ को गाउँबारी र मुसीकोट नगरपालिका–११ को रिठाबोटको १० घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार लगातारको वर्षाका कारण आठविसकोटका ५ र मुसीकोटका ५ घर नै उच्च जोखिममा रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिका–११ का २ घरपरिवार बिस्थापित भएका छन् । वर्षाको कारण पहिरोले बस्ती नै जोखिममा परेपछि मुसिकोट नगरपालिका–११ को रिठाबोट बस्तीका २ परिवार घर छोडेर स्थानीयको घरमा आश्रय लिएका छन् ।
प्रहरीको उद्धार टोली तयारी अवस्थामा
रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले मनसुन सक्रिय भएसँगै विपद् घटनाको उद्धार टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार मनसुन सुरु भएसँगै अविरल वर्षाको कारण हुनसक्ने बाढी, पहिरोलगायत विपद्को घटनाहरूलाई मध्यनजर गर्दै विपद् उद्धार टोली तयारी अवस्थामा राखिएको हो ।
प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा १५ जनाको टोली रहेको र आवश्यकताको आधारमा अन्य प्रहरीसमेत परिचालन हुने प्रहरीले जनाएको छ । आवश्यकताका आधारमा जिल्ला मातहतका ईलाका प्रहरी कार्यालयहरू, प्रहरीचौकीमा समेत उद्धार टोली तयारी अवस्थामा रहेको जनाइएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया