मुगु । मुगु जिल्लास्थित सोरु गाउउँपालिका—४ रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन् । असार २१ गते बिहान गाउँमाथिबाट वर्षासँगै उर्लेर आएको बाढीले खेतीयोग्य जमीन बगरमा परिणत गरि गाउँ जोखिम बनेपछि ३५ दलित घरका करिव १७५ स्थानीय त्रासले रातभर जागराम बस्ने गरेका हुन् ।
गत वर्ष पनि यही समयमा गाउँमाथिबाट बाढी आउँदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यसपटक पनि सोही स्थानबाट बाढी आएर जग्गाजमीन लहसनहस बनाएपछि दलित परिवारलाई उठिबास हुन थालेको छ । ‘बाढी पहिरोको डरले हामी राति सुत्दैनौँ’, रावलबाडा गाउँका ४७ वर्षीय जाड नेपालीले दुखेसो पोख्दै भने, ‘वर्षा हुँदा बित्तिकै माथिबाट बाढीपहिरो आएर खेतीयोग्य जग्गाजमीन बगर बनाइसक्यो, हामी दलित परिवारका घर बाढी पहिरोले तहसनहस बनाइक्यो ।’
राति बाढी आएपछि बाँचौँला भनेर रातभर गाउँले जम्मा भएर घरको छतमा जागराम बस्ने गरेको दानसिंह नेपालीले बताए । वर्षा सुरु भएपछि देवीदेवता पुर्कादै घरमा बस्नुपरेको उनले सुनाए । कोही ओढ्ने र ओछ्याउने लत्ता कपडा बोकेर गाउँभन्दा ५ मिनेट पर प्राथमिक विद्यालयको भवनमा सुत्न जाने गरेका छन् ।
बर्खा लागेपछि रावलबाडा गाउँको माथिबाट पनि माथि बाढी पहिरो आउने र गाउँको मुनिबाट पनि जमिन भासिँदै जान थालेपछि ३५ दलित परिवारलाई आफ्नो ज्यानदेखि धनसम्पती जोगाउन सास्ती हुन थालेको छ । हुम्ला कर्णाली नदीले गाउँ मुनिको जमीन बाढीले कटान गर्दै जान थालेपछि बस्ती नै भासिँदै जान थालेको छ । रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको उच्च जोखिमा रहेको सोरु गाउँपालिका—४ का वडाध्यक्ष गोर्ख मल्लले जानकारी दिए ।
अध्यक्ष मल्लका अनुसार झरी पर्न थालेपछि बाढी पहिरोको त्रासले दलित परिवार रातभर जागराम बस्ने गरेका छन् । बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले अन्यत्र स्थानमा सार्न अति जरुरी भइसकेको वडाध्यक्ष मल्लले सुनाए । रावलबाडा गाउँका दलित परिवारले बस्ती अन्यत्र सारिदिन गाउँपालिका, कर्णाली प्रदेश र संघीय सरकारसँग बारम्बार गुहार माग्दै हैरान भए पनि कार्यन्वयन नहुँदा त्यहाँका स्थानीय चिन्तित छन् ।
‘रावलबाडा गाउँ बाढी पहिरोको उच्च जोखिममा छ’, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने, ‘बजेट अभावका कारण उक्त बस्ती अन्यत्र सार्न गाह्रो भइरहेको छ ।’ सोरु गाउँपालिका भरिका ५५ वटा बस्तीमध्ये दलितको बाहुल्यता रहेको रावलवाडा गाउँ बाढी पहिरोको जोखिममा रहेको अन्यत्र सार्न अति आवश्यक रहेको उनको भनाई छ ।
मुगु
प्रतिक्रिया