संक्रमणकाल बढाउनु खतरनाक

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जतिसक्दो छिटो विश्वासको मतका लागि संसद्मा प्रस्तुत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूले बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डलाई जतिसक्दो छिटो संसद्को फेस गर्न आफ्नो पार्टीले आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । सत्ताको मुख्य घटक नेकपा एमालेले बुधबार औपचारिक रूपमै समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ ।

यस्तो अवस्थामा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता प्रधानमन्त्री प्रचण्डलाई छ । तर, पुरै एक महिना गुजार्ने वा जतिसक्दो छिटो विश्वासको मत लिने भन्ने कुरा प्रधानमन्त्री प्रचण्डको स्वविवेकमा भर पर्छ । संसद् अधिवेशन नचलेको अवस्था हुन्थ्यो भने तत्काल विश्वासको मत माग्न संभव हुँदैनथ्यो । किनकी केही दिनको म्याद दिएर संसद्को बैठक बोलाउनुपर्ने हुन्थ्यो । यसका लागि समय लाग्थ्यो । यस्तै परिस्थितिलाई मध्यनजर राख्दै विश्वासको मत माग्नका लागि संविधानमा १ महिनाको समय सीमा तोकिएको हो । तर, यतिबेला संसद्को अधिवेशन जारी छ । २४ घण्टाको सूचना दिएर विश्वासको मत माग्न सक्ने सुविधा प्रधानमन्त्री प्रचण्डलाई छ । असार २३ गते संसद्को बैठक बस्दै छ ।

२०७९ पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भए यता प्रचण्डले ४ पटक विश्वासको मत लिइसकेका छन् । सत्ता सहयात्रीहरूले साथ छाडेका कारण प्रधानमन्त्री प्रचण्डले छोटो अवधिमा यति धेरैपटक विश्वासको मत लिएका हुन् । तर, विगतको परिस्थिति र अहिलेको परिस्थिति भिन्न छ । विगतमा सत्ता सहयात्रीले समर्थन फिर्ता लिँदा पनि सरकार अल्पमतमा परेको थिएन, त्यसैले महिना दिन गुज्रन लागेपछि विश्वासको मत लिँदा पनि खासै फरक पर्ने अवस्था थिएन । तर, यसपटक एमालेले समर्थन फिर्ता लिएपछि सरकार सिधै अल्पमतमा परेको छ । एकातिर संसद्को बर्खे अधिवेशन जारी छ, अर्कातिर सरकार अल्पमतमा परिसकेको छ ।

यस्तो अवस्थामा संसद्को बैठक के कसरी सूचारु गर्ने ? भन्ने समस्या आउनु स्वभाविकै हो । किनकी सरकारको बहुमत नभएको अवस्थामा विधेयकहरू पारित नहुने भएकोले संसद्को बैठक बोलाउनुको औचित्य रहँदैन । त्यसैले जतिसक्दो छिटो विश्वासको मतका लागि संसद्मा प्रस्तुत हुन सहयात्री रास्वपाले दिएको सुझावलाई प्रधानमन्त्री प्रचण्डले सहज रूपमा कार्यान्वयन गर्नुपर्छ ।

विश्वासको मत माग्न जति ढिलाई गर्दै गयो, प्रधानमन्त्री प्रचण्डमाथि उति नै पदलोलुपकोे आरोप लाग्न थाल्छ । अर्कोतिर सत्ता सहयात्रीहरूमा पनि कुरेर बसिरहने धैर्यता नरहन सक्छ । वर्तमान सत्ताको दोस्रो ठूलो घटक रास्वपाका मन्त्रीहरू राजीनामा दिने तयारीका साथ बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुको कारण यही हो ।

साविकको सरकार ढल्ने चरणमा पुगेको र नयाँ सरकार गठन भइनसकेको अवस्थालाई संक्रमणकाल भनिन्छ । संक्रमणकालको अवधि देशका लागि खतरा मानिन्छ । संक्रमणकालमा राज्य संयन्त्रले सरकारलाई टेर्दैन । मन्त्रीको निर्देशन कर्मचारीहरूले मान्दैनन् । कर्मचारीलाई निर्देशन दिने तथा कारबाही गर्ने आत्मबल मन्त्रीहरूले गुमाइसकेका हुन्छन् ।

यस्तो अवस्थामा अवाञ्छित तत्वहरूको चलखेल बढ्छ । यस्तो बेलामा सुन तस्करी, अबैध हातहतियारको तस्करी तथा लागुपदार्थको तस्करी बढेका धेरै नजीरहरू छन् । त्यसैले संक्रमणकालको अवधि लब्याउने चेष्टा गर्नु घातक हुन्छ । रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई सही समयमा सही सुझाव दिएको छ ।

प्रतिक्रिया