मल अभावको बीच धनुषामा रोपाइँ सुरु

जनकपुरधाम । मुलुकमा मनसुन भित्रिएसँगै धनुषामा धान रोपाइँ सुरु भएको छ । असार लागेसँगै जिल्लाका कतिपय किसानले मल बिना नै धान रोपाइँ गरिरहेका छन् । यो समस्या प्रतिवर्ष जस्तै रहेको भन्दै हालसम्म समाधान नभएको किसान बताउँछन् ।

जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ । संघीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसँग मल प्रयाप्त मात्रामा भए पनि किसानलाई नदिइएको मनोहर यादवले गुनासो गरे । उनका अनुसार असार लागेसँगै कतिपय किसानले मलबिना नै रोपाइँ गरिरहेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म २४ करोड ४१ लाख ७३ हजार ५५० बराबरको ९३ हजार ३३९ मेट्रिकटन मल बिक्री गरेको जनाएको छ ।

९ करोड ३३ लाख ७६ हजार १३० बराबरको ५ हजार ५१३ मेट्रिक टन युरिया, १६ करोड ४३ लाख ४५ हजार बराबरको ३ हजार ५७२ मेट्रिकटन डिएपी, ५७ लाख ८१ हजार ७०० मूल्य बराबरको १७० मेट्रिकटन पोटास तथा ६ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिकटन चुन बिक्री गरिएको कार्यालयका प्रबन्धक बेचनकुमार महतोले जानकारी दिए ।

उनका अनुसार वर्षेबालीका लागि कार्यालयसँग युरिया २ हजार २६२ मेट्रिकटन, डिएपी ११४ मेट्रिकटन तथा पोटास ९७ मेट्रिकटन मौज्दात रहेको छ । ‘धानखेतीका लागि आवश्यक पर्ने मल पर्याप्त अवस्थामा रहेको छ भने मल आउने क्रम जारी छ’, उनले भने ।

यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराइने भन्दै मलको समस्या नरहने प्रबन्धक महतोले बताए । ‘जनकपुर शाखाबाट धनुषा तथा महोत्तरीका २७ पालिकाअन्तर्गत रहेका २०९ सहकारी संस्थामार्फत मल जाने गरेको छ । जिल्लाका सम्बन्धित पालिकाको ढिलासुस्तीका कारण किसानलाई मलको अभाव देखिएको हो’, उनले भने ।

स्थानीय पालिकाले समयमा मलका लागि ढुवानी खर्च, ‘लोड’ र ‘अनलोड’ गरी बिक्री गर्ने दररेट कायम नगर्दा बिक्रेताले किसानलाई बिक्री गर्न नसकेका हुन् । भारतबाट कम गुणस्तरको मल ल्याउँदा जमिनको उत्पदान क्षमतामा ह्रास आउँदै गएको किसान यादवले बताए । कृषि सामग्री संस्थाबाट मल नपाउँदा सोनमा गाउँपालिकाका किसानले भारतीय बजारबाट बढी मूल्यमा मल ल्याएर रोपाइँ गरिरहेका उनले जानकरी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक महतोका अनुसार किसानको आवश्यकताअनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । सहजरूपमा मल पाउन गाह्रो रहेको महेन्द्रनगरका किसान रामकुमार महतोले बताए । स्थानीय तहले मल वितरण प्रणालीमा पारदर्शिता लागू नगर्दा किसानलाई समयमा मल पाउन सकस भएको उनको बुझाइ छ ।

प्रदेश सरकारमार्फत पालिकाले पाएको कोटा अनुसारको मल समयमा नउठाउँदा रोपाइँको समयमा अधिकांश किसानले मल पाउन सकेका छैनन् । कार्यालयले किसानलाई सहुलियत दरमा युरिया प्रति बोरा ८५० रुपैयाँ, डिएपी ५० किलोको प्रतिबोरा २ हजार ३५०, पोटास प्रतिबोरा १ हजार ७५० रुपैयाँमा बिक्री गर्दै आएको छ । स्थानीय बिक्रेताले जथाभावीरूपमा बिक्री वितरण गर्दा किसानले बाध्य भएर भारतीय बजारबाट खरिद गर्नुपरेको गुनासो गरेका छन् ।

प्रतिक्रिया