पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरी धर्ना

रौतहट । रौतहटमा जनता अवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घरहरूको भुक्तानी गर्नुपर्ने माग गर्दै लाभग्राही पीडितहरू आन्दोलन गरिरहेको छ । आमदलित मोर्चाले नेतृत्व गरेको आन्दोलनकारीहरू रौतहटको गौरस्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना दिइरहेको छ ।

मोर्चाका अध्यक्ष एवं जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा आन्दोलनका कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ । संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना जारी राखेपछि सरोकारवालाबीच बिहीबार वार्तासमेत भइरहेको छ ।

जनता अवास कार्यक्रमअन्तर्गत निर्माण भइसकेका घरको भुक्तानी गर्ने र त्यसको अनुगमन गर्ने तयारी भइरहेको छ । मधेस प्रदेशका सांसदसमेत रहेका जनता आवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेल निर्माण भइसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमत छन् । पटेलसहित सरोकारवाला एवं आन्दोलनरत पक्षका बीचमा छलफल भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।

‘यस अघिको मधेस सरकारले जनताको आवाज नसुनेको र गरिब दलितको निर्माण भइसकेको घरको भुक्तानी गरेन् । कतिपय घर निर्माण भइरहेकै अवस्थामा अधुरो छोड्यो । हामीले निर्माण भइसकेका घरहरूको भुक्तानी हुनुपर्ने र अधुरो छोडिएका घरको निर्माण यथाशीघ्र सुरु गर्नुपर्ने माग गरेका छौँ’, साहले भने ।

रौतहटको बगही, पतौरा, मौलापुर, मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रमअन्तर्गत निर्माण भइसकेको घरको भुक्तानी गर्न बाँकी रहेको छ । यस्तै कतिपय ठाउँमा अधुरो अवस्थामै घर निर्माणको काम छोडिएकाले त्यसलाई पूरा गर्नुपर्ने संघर्ष समितिका संयोजक दासले जनाएका छन् ।

यसअघि आमदलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । जनता अवास कार्यक्रमअन्तर्गत निर्माण भइसकेका घरको भुक्तानी एवं अधुरो छोडिएका घरको निर्माण सम्पन्न गर्नुपर्ने, पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्नुपर्ने लगायतका माग समितिले गरेको छ । तर, सम्बन्धित निकाले चासो नदिएपछि आन्दोलनका कार्यक्रम अगाडी बढाइएको हो ।

प्रतिक्रिया