हर्न बजिरहेको थियो

Babu-Tripathiभगवान्को दर्शन सकियो ।

एकछिन मन्दिरसँगै कालो पानी बोकेर बगिरहेको उदास बाग्मतीलाई हेरेँ र आफैँलाई निर्देशन दिएँ– ‘फर्की ।’
मभन्दा पहिले मेरो कम्मर र टाउको फर्कियो । हिजोको थकाइले होला गोडा निकै गलेका थिए । सोचेँ आज हिँड्दिन । आज मोटर चढ्छु । बाटोमा आएर मोटरलाई पर्खिएँ । फूल बेच्नेहरूले बाटै ढाकेर बसेका छन् । बाटो सानो हुने गरी बाटो च्यापेर बसेका छन् घरहरू । एकछिनपछि खाली सिट बोकेर आएको पुरानो मिनिबस मेरो अगाडि आएर घ्याच्च रोकियो । सरासर अन्तिम सिटमा गएर बसेँ । चालक ओर्लियो । मोटर स्टार्ट मै थियो ।
मैले झ्यालबाट चालकलाई भनेँ, ‘कतिखेर जान्छ ।’
चालकले भनेँ, ‘खलासीलाई सोध्नूस त ।’ मोटर स्टार्टमै थियो ।
रित्तो मोटर गुड्दैन । चालकलाई जाऊ भन्नु बेकार । उसको पनि पेट छ । उसको भन्दा उसको मालिकको अझ ठूलो पेट छ । खलासीको पेट छ । पेटकै लागि त मरिमेट्छ मान्छे । पेटले त मान्छेलाई ज्यानमारासमेत बनाउँछ । पेटको लागि म केही बोलिनँ ।
एकछिनपछि चालक आफ्नो सिटमा आएर बसे । खलासीले जोडले चिच्यायो बागबजार…रत्नपार्क । मोटर स्टार्ट भयो । एक जना पुरुष मेरो अगाडि आए बसे । चिनेको जस्तो लाग्यो । नियालेँ, होइन रहेछ । चाललको अगाडि रहेको ऐनाले मलाई हेरिरहेको थियो । र, चाललको आँखाले पनि । मोटर गुड्यो ।
मोटरले आफ्नो गति लियो । छिनछिनमा हर्न बजाउँथ्यो चालकले र ऐनाबाट मलाई हेरिरहन्थ्यो । अलिपर पुगेपछि कालो झोला बोकेकी, सेतो कुर्ता लाएकी एउटी युवतीले मोटरलाई दायाँ हात दिई । मोटर रोकियो । म झ्यालबाट हेरिरहेथेँ । खलासी जोडले फेरि चिच्यायो । गौशाला …चावहिल ।
युवतीलाई बीस सेकेन्ड हेर्न पाएँ होला, राम्री त राम्री थिइन् । ती युवती मभन्दा अगाडि आएर बसी । पछाडिबाट उसको हाउभाउ त अर्कै थियो । मोटरमा चालक, खलासी, म, ती युवती, अपरिचित मित्र गरी हामी पाँच जना भयौँ । मोटर अगाडि बढ्यो । मोटर जोरपाटी पुग्न लागेको थियो, ती युवतीले मोटर रोक्न भनी । मोटर रोकियो । तिनले झ्यालबाट एउटा युवकलाई बोलाइन् । युवक मोटरभित्र आयो । मोटर फेरि अगाडि बढ्यो । यत्तिकैमा मोटर जोरपाटी चोक पुग्यो । अरू तीन जना पनि चढे ।
अघिको भन्दा मोटरको, मान्छेको, साइकलको, मोटरसाइकलको चाप बढ्यो । हर्न बढ्यो । धूलो बढ्यो । धूलोमा सिट्ठी फुक्दै गरेको ट्राफिकहरू देखिए । लौरो बोकेका सुरक्षाकर्मीहरू पनि देखिए । खलासी अझै जोडले चिच्याउन थाल्यो, गौशाला…रत्नपार्क…।
मोटरमा मान्छेहरू भरिँदै गए । मोटरको हर्न र मोटर संख्या बढ्दै गयो । मोटरसाइकल त्यत्तिकै । साइकल त्यत्तिकै । बटुवा त्यत्तिकै । सडक व्यापारीहरू त्यत्तिकै । साइकलमा सामान बेच्न हिँड्नेहरू त्यत्तिकै । अघि चढेका युवती र युवक सिट छोडर झनै पछाडि गए । खलासीको चिच्याउने काम रोकिएको थिएन । मिसिनजस्तै छ त्यो खालासी । मोटर भरिएको चाहिं थिएन, मोटरले के कमाउला, मनमनै सोचेँ । मोटर हिँड्ने बित्तिकै पेट्रोल पम्पमा छिर्‍यो । पछाडिबाट ती युवती र युवकको आवाज एकसाथ आयो ‘मोटर किन यता रोकेको ?’
चालककले स्टार्ट बन्द गर्दै भन्यो–‘यो मोटर भोकाएको छ हजुर ।’ सबै हाँसे । अगाडि डिजल भर्न लागेको अर्को मोटर छ । त्यो नसकिएसम्म यसको पालो आउँदैन ।
डिजलवाला आएर सोध्यो ‘यसमा कति लिटर ?’
‘आजलाई तीस लिटर ।’ चालकले भने ।
खलासी फेरि चिच्यायो ‘ रत्नपार्क…चावहिल । ’
‘पम्पमा किन चिच्याएको, बौलाइस् कि क्याहो’ चालकले भने ।
‘ए बिर्सिएछु’ खलासीले भन्यो । त्यसपछि ऊ एक्लै हाँसिरह्यो । ‘यिनीहरू त सपनामा पनि यसैगरी चिच्याउँछन् होला’ अपरिचित युवकले व्यंग्य गर्‍यो ।
मैले पनि आफ्नो हाँसो खप्न सकिन । म पेट्रोलपम्प नियाल्दै थिएँ, च्यार…च्यारको आवाज आयो । फर्केर अघिकै युवतीलाई हेरेँ । तर, उनीहरूको आँखा एक आपसलाई हेर्नमै केन्द्रित थियो । युवकले खल्तीबाट केही निकाल्यो । म फर्केँ । त्यो युवकले युवतीलाई भन्यो ‘मैले तिमीलाई पाँच पाकेट पाउँ ल्याइदिएको छु ।’
आहा पाउँ ‘ती युवतीले भनिन् । मेरो कानमा त्यही कुरा बजारियो । फर्केर हेरेँ, युवती युवकको अंगालोमा टाँसिएकी थिई । मनमनै भनेँ ‘लाज नभएकाहरू ।’
‘आहा पाउँ, कति माया गर्छौ हगी मलाई,’ युवतीले भनी ।
मलाई रिस उठ्यो । मनमनै भनेँ । ‘कसकी छोरी होली । पाउँमा जम्मै माया बेची । अलिकति पनि बाँकी राखिन ।’
तुरुन्तै देशको पाना पल्टाएँ । कहिले सोच्छन् होला यिनीहरूले देशको बारेमा ? पाउँमा माया बेच्छन् र किन्छन् । मैले सोच्न नभ्याउँदै मोटर बौद्ध पुग्यो । केही ओर्लन्छन् । केही उक्लन्छन् । आधुनिक मेसिन चिच्याइरहेको छ । रत्नपार्क…रत्नपार्क ।
मेरो आँखा सडक नजिक रहेको चस्मा पसलमा ठोक्कियो । भित्तामा उभिएकी एउटी युवतीसँग मेरो आँखा जुध्यो । निकैबेर ती युवतीलाई हेरेँ । जापानिज जस्ती छ, । नभन्दै जापानिज रै’छिन् । कति राम्रो कालो चस्मा लगाएकी । तर, के गर्नु पोस्टरमा थिइन्, त्यो त चस्मा पसल रहेछ । मोटर बिस्तारै अगाडि बढयो । अगाडि जाम रहेछ ? यात्रुहरू अब चुप लागेनन् । उनीहरू एक साथ बोले । कति यात्रु भए अब गन्न नभ्याउने अवस्थामा म भएँ ।
‘खै हजुर ट्राफिक सम्स्या,’ चालकले भने ।
पछाडि फर्केर हेरँे । तिनीहरू अझै कस्सिएर बसेका थिए । रिस उठ्यो । ती युवतीको बाबुआमालाई सम्झिएँ । कस्ता होलान् यसका बाबुआमा । म युवकलाई दोष दिन्न । किनकि। उसको कुनै गल्ती छैन । मनमनै सोचेँ । यो केटीका बाबुआमालाई भेट्न पाए त भनिदिन्थँे, तिम्री छोरीले पाँच पाकेट पाउँमा माया बेचेकी छ । फेरि सोचेँ, मलाई के मतवल । अरूको स्वतन्त्रतामा आँच पुर्‍याउने मलाई कुनै अधिकार छैन ।
जाम खुल्यो । मोटर गुड्यो । मोटर बौद्धनाथ पुग्यो । झ्यालबाट बुद्धलाई चियाएँ । एकहुल बुद्धका अनुयायीहरू मेरो आँखा छलेर पारीतिर गए । म उनीहरूलाई हेरिरहेँ । आवाज आयो, रत्नपार्क…रत्नपार्क…।
पछाडिबाट एम्बुलेन्स कराउँदै आयो । एम्बुलेन्स एक तमासले कराइरहेको छ, कसैले बाटो नछोडेर । गल्ती त मान्छे र मोटर दुवैको छ, कमसेकम एम्बुलेन्सलाई बाटो त छोडि दिनु नि, छोड्दैनन् । एकछिनपछि एम्बुलेन्स मोटर र मलाई उछिनेर अगाडि बढयो । अलि अगाडि प्रहरी चौकी । बन्दुक बोकेर बसेका हाम्रा आफ्नै दाजुभाइ देखेँ । मनलाई त्यतातिर लगेँ र भनेँ बन्दुक किन बनाउँछ मान्छे ? बन्दुक त विनाश हो । बुद्धको छेउछाउ बन्दुक बोकेर बसिरहेछन् ।
धन्न आज चाहिं त्यस्ता आइमाई र पुरुषहरू यो मोटरमा चढेका रहेनछन् । जो गर्नै नहुने कुरा जोडजोडले मोटरभित्र गर्छन् । जो मोटरमा यात्रा गर्दा आफूले बोलेको कुरा अरूलाई मन पर्दैन भन्ने बिर्सिन्छन् । बोल्न हुने पनि बोल्छन्, बोल्न नहुने पनि बोल्छन्, । कति यात्रामा त्यस्ता मान्छेहरूलाई पनि मैले भेटेको छु ।
मोटर चुच्चेपाटी पुग्यो । एकचोटी पासाङलाई हेरेँ । दिक्क लाग्यो । दिक्क यसकारण लाग्यो–पछाडिको युवतीलाई सम्झिएँ । आधा दर्जन खोट त्यो युवतीको अनुहारमा केलाएँ । एकजोडी त्यहीँबाट चढ्छन् । पाँच जना जति ओर्लन्छन् । खलासीको चिच्याउने क्रम रोकिएको छैन । मोटर चाबहिल चोक पुग्यो । त्यहाँ पनि केही ओर्लन्छन् । केही उक्लन्छन् ।
मोटरको चाप अघिको भन्दा बढ्न थाल्यो । यसैगरी पैदल यात्रीहरूको संख्या । एकातिर अघि चढेका युगल जोडी र अहिले चढेका जोडी र उनीहरूले गरेको विकास र निर्माणको कुरा मेरो कानै नजिक आएर अरूको कानमा जान्थ्यो । सोचेँ यिनीहरू र तिनीहरू । फेरि अर्को बौद्धनाथ आयो । आस्थाले एकचोटि शिर झुकाएँ ।
मोटर गौशाला आइपुग्यो । त्यहाँ पनि केहीबेर मोटर रोकियो । एकहुल गेरुवस्त्रमा सजिएकाहरू मोटरमा चढे । त्यस्तै एक हुल पशुपतिको बाटो तताएको देखेँ । अर्केा स्टप मेरो झर्ने ठाउँ आउँछ । मोटर रोकिएकै छ । फर्केर सुरुमा चढेका जोडीलाई हेर्ने इच्छा हुन्छ तर हेर्न सक्तिन । मोटर गुड्छ । मेरो ओर्लने ठाउँ पनि आइपुग्छ । म मोटरबाट ओर्लन्छु र ओर्लिनासाथ मोटर आफ्नो गतिमा अगाडि बढ्यो ।
बाटैमा एकछिन हराएँ र सुरुमा चढेकी युवतीलाई सम्झिएँ । र, चुच्चेपाटीबाट चढेका एकजोडीलाई सम्झिएँ । मोटरको चर्को हर्न बजिरहेको थियो ।

प्रतिक्रिया