विमान सेवा कम्पनीहरूले काठमाडौँ–भरतपुर तथा काठमाडौँ–पोखराको उडान क्षमतालाई ३ गुणा वृद्धि गरेका छन् । उडानको संख्या मात्रै तेब्बर बनाएका छैनन्, ठूला विमानसमेत थपेका छन् । काठमाडौँ–भरतपुर रुटमा ४२ सिट क्षमताका विमान सञ्चालन गर्दै आएको बुद्ध एयरले ७२ सिटे जहाजबाट उडान गर्ने भएको छ । यसैगरी गत साता श्री एयरले काठमाडौँ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । झट्ट सुन्दा र पढ्दा यो समाचार अत्यन्तै शुभ लाग्न सक्छ । तर, यो समाचारको अन्तैर्य भने निकै कहालीलाग्दो छ । यो वर्षको बर्खा सिजनमा पृथ्वीराजमार्ग तथा मुग्लिन–नारायणगढ सडकमा यात्रुहरूले धेरै नै ठूलो सास्ती बेहोर्नुपर्नेछ भन्ने पूर्व सन्देश हो यो । विगतमा मुग्लिन–नारायणगढ सडक बिस्तारको काम चलिरहँदा काठमाडौं–भरतपुर रुटमा दैनिक २१ वटा उडान हुने गरेका थिए भने दैनिक करिब ३ हजार यात्रुहरू ओहोरदोहोर गर्ने गरेका थिए । मुग्लिन–नारायणगढ सडक बिस्तारको काम सम्पन्न भएपछि भने यो रुटको उडान तथा यात्रुको संख्या करिब दुईतिहाइ घटेको थियो । यसपटक फेरि पहिलेजस्तै उडान संख्या थप गर्न विमान कम्पनीहरू प्रतिस्पर्धामा उत्रेका छन् । केही पूर्वसंकेत पाएर नै उनीहरूले उडान क्षमता ३ गुणा बढाउने निर्णय गरेका हुन् ।
सडक यातायातमार्फत काठमाडौँबाट ३ देखि ४ घण्टामा भरतपुर पुगिन्छ, गाडी भाडा ५ देखि ६०० रुपैयाँ छ । यता काठमाडौँ–भरतपुरको जहाज भाडा करिब ४ हजार रुपैयाँ छ । उडान अवधि करिब आधा घण्टाको भए पनि कम्तिमा एक घण्टा डिले हुने गरेको छ । काठमाडौँको एयरपोर्टसम्म आवतजावतका लागि ट्राफिक जामका कारण करिब १ घण्टा लाग्ने गरेको छ । यति हुँदाहुँदै पनि काठमाडौँ–भारतपुर रुटमा सडक यातायात प्रयोग गर्न छाडेर हवाई यातायात रोज्न यात्रुहरू बाध्य छन् । उनीहरूलाई बाध्य पारिएको छ । जम्मा ३० किलोमिटर लम्बाइको मुग्लिन–नारायणगढ सडक बिस्तारका नाममा ५ वर्षसम्म यात्रुलाई सास्ती दिइयो । सडक बिस्तारको काम सम्पन्न भएपछि पुल निर्माणको काम भन्दै फेरि यात्रुलाई सास्ती दिइएको छ । पुल निर्माणको काम अझै सम्पन्न भएको छैन । सडक बिस्तार र पुल निर्माणको काम सँगसँगै सुरु गरिएको भए दशकौँसम्म यात्रुहरूले सास्ती पाउने थिएनन् । यतिबेला पृथ्वी राजमार्गको विभिन्न खण्डमा बिस्तारको काम अघि बढाइएको छ । काम अत्यन्त धिमा गतिमा अघि बढेको छ । सडकमा माटोको लेदोका कारण मुग्लिनदेखि काठमाडौँसम्मको ११० किलोमिटर यात्रा गर्न सरदर १० घण्टा लाग्ने गरेको छ । अब बर्खाको बेला त अझ भयावह अवस्था बन्दै छ । यही मौकामा आफ्नो व्यापार वृद्धि गर्न व्यवसायीहरूले काठमाडौँ–भरतपुरको उडान क्षमता ३ गुणा बढाएका हुन् ।
सडक मर्मत तथा बिस्तारको काम कहालीलाग्दो ढंगले ढिलाइ हुने कुरा, निर्धारित समयभन्दा तेब्बर समय लाग्ने कुरा विमान सेवा प्रदायक कम्पनीहरूले पहिले नै थाहा पाउनु आफँैमा ठूलो रहस्य हो । उदाहरणका लागि जब नारायणगढ–बुटवल सडक खण्ड २ वर्षभित्र बिस्तार गरिसक्ने सर्तमा ठेक्का लगाइयो, तब विमान सेवा कम्पनीहरूले भरतपुर–भैरहवा उडानका लागि अर्बौं रुपैयाँ लगानी गरे । काठमाडौँ–भैरहवा तथा पोखरा– भैरहवामा उडानको संख्या पनि त्यसरी नै थपियो । २ वर्ष बितिसक्दा नारायणगढ– बुटबल सडक विस्तारको काम जम्मा २५ प्रतिशत सम्पन्न भएको छ । पहिले यो ११० किलोमिटर यात्रा गर्न डेड घण्टाको समय लाग्ने गरेकोमा अहिले ६–७ घण्टा लाग्छ । विमानहरूलाई यात्रु ओसार्न भ्याइनभ्याई छ । विमान सेवा प्रदायक कम्पनी, सडक विभाग र ठेकेदारबीच मिलिभगत भएको ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन । संयोग मात्रै पनि हुनसक्छ । सडक मर्मत तथा बिस्तारका क्रममा घण्टौँ ट्राफिक जाम हुने गरेकोले यात्रुले पाउने सास्ती आफ्नो ठाउँमा छ, उपचारका लागि लगिएका बिरामी बाटैमा मर्ने गरेका कतिपय दुःखद् घटनाहरू पनि छन् । हवाई उडानको संख्या थपिँदा धनीमानीहरूलाई यस्तो सास्ती कम हुन्छ । बिरामीहरू बाटैमा मर्ने संभावना घट्छ ।
प्रतिक्रिया