ट्रान्सफर्मर जडान भएपछि कनकपुरबासी हर्षित

मधेस ब्युरो । कम भोल्टेजको समस्या भोगिरहेका कनकपुरबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुसी दिएको छ । चरम गर्मीको दिनमा घरभित्र पनि गर्मीले यातना दिइरहेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् ।

रौतहटको गुजरा नगरपालिका ३ कनकपुरका नेपाली कांग्रेसका स्थानीय युवा नेता साबिर हुसेनको निरन्तर पहलमा स्थानीयबासीलाई खुसी प्राप्त भएको हो । युवा नेता हुसेनले वडा कार्यालय, नगरपालिका कार्यालय, विद्युत प्राधिकरणसहित सरोकारबाल हरेक व्यक्ति र कार्यालयमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् ।

कनकपुरबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए ।

कनकपुर बजारमा मंगलबार नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै खुसी भएको शेख जफिर आलममे बताएका छन् । आलम भन्छन्, ‘युवा नेता हुसेनले दिनरात पहल गरेर बजारमा नयाँ ट्रान्सफर्मर जडान गराएपछि हाम्रो घरमा खुसी फर्किएको छ ।’

सबै कानुनी प्रक्रिया पूरा गरेर विद्युत कार्यालय निवेदन दिएको भए पनि प्राधिकरणले नसुनेपछि हुसेनको नेतृत्वमा गएको युवाहरुको टोलीले नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको थियो । केन्द्रका प्रमुख धिरेन्द्र यादवले ज्ञापनपत्र बुझ्दै एक हप्तामा ट्रान्सफर्मर जडान गरिने प्रतिबद्धता जनाएका थिए ।

केन्द्र प्रमुख यादवको प्रतिबद्धताअनुसार एक हप्ता नबित्दै मंगलबार ट्रान्सफर्मर जडान भएको छ । गत बिहीबार प्राधिकरणको प्राविधिक टोलीसमेत कनकपुरमा पुगेर स्थलगत निरीक्षण गरी स्थानीयबासीसँग छलफल गर्दा वडाध्यक्ष झमकप्रसाद चौलागाईँ समेतले यथाशीघ्र नयाँ ट्रान्सफर्मरका लागि अनुरोध गरेका थिए ।

आफ्नो अथक प्रयासले ट्रान्सफर्मर जडान भएकोमा कनकपुरबासीसँगै आफूलाई पनि अपार खुसी लागेको युवा नेता आलम बताउँछन् । ट्रान्सफर्मर जडान भएपछि स्थानीय शेख अबु होरैर, बिरिन्ची ठाकुर, नासिर हुसैन, मोहम्मद आलम लगायतका स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नका लागि सजिलो भएको बिरिन्ची ठाकुरको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया