पर्सा । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर ४०० सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी ४८९ वटा सीमास्तम्भमध्ये ३९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो ।
१३ नम्बर गणका गणपति राधेश्याम धिमालले नापी कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भारको काम जारी रहेको बताए ।
‘पर्सामा २१ वटा मुख्य सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १९ वटाको काम भइसकेको छ’, उनले भने, ‘बाँकी २ सीमास्तम्भको पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अघि बढाउनेछौँ ।’ प्रहरी बलले १३ वटा सहायक सीमास्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १२ वटाको काम पूरा भएको छ ।
यसैगरी ४५५ वटा साना सीमास्तम्भको रङरोगन र मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म ३६८ वटाको मर्मतसम्भार भइसकेको छ भने ८७ वटाको मात्रै रङरोगन र मर्मतसम्भार गर्न बाँकी छ । पर्सामा मुख्य, सहायक र साना गरी कुल ९० वटा सीमास्तम्भ मर्मतसम्भार गर्न बाँकी छ ।
प्रतिक्रिया