मानव सेवा आश्रमद्वारा एक युवकको उद्धार

राजविराज । मानव सेवा आश्रम जनकपुरधामले इन्सेक सप्तरी प्रतिनिधिको पहलमा सप्तरीबाट असार ४ गते १ युवकको उद्धार गरेको छ । ५ वर्षदेखि फलामे साङला (सिक्री)मा बाँधिएका मनोरोगी २५ वर्षीय प्रविन कुमार चौधरीलाई उपचार र स्याहारका लागि उद्धार गरी जनकपुरधामस्थित मानव सेवा आश्रम लगिएको हो ।

मानव सेवा आश्रमका सचिव सुमन बड्तौला, मधेस प्रदेश संयोजक विवेक महतो, सन्तोष थापा मगरको टोलीले चौधरीलाई उद्धार गरी लगेको इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले जानकारी दिएका छन् ।

२०६९ सालमा हेटौँडाबाट सुरु गरेको आश्रमले अहिले देशका १९ जिल्लामा २४ केन्द्र स्थापना गरी सेवा गर्दै आएको छ । जसमा हाल १ हजार ७०० बढी सहयोगापेक्षी व्यक्ति रहेका आश्रमका सचिव बड्तौलाले बताए ।

शम्भुनाथ नगरपालिका–७, भगवतपुरका प्रविनलाई उपचार खर्चको अभावमा घरमा फलामे साङला (सिक्री)ले बाँधेर राखिएको थियो । मधेस प्रदेशका पूर्वमन्त्री महेश यादव र इन्सेक प्रतिनिधि पोखरेलले फलामे सिक्री खोल्दै चौधरीलाई मुक्त गरेका हुन् । उक्त अवसरमा वन तथा वातावरण राज्यमन्त्री रन्जु कुमारी मण्डल खंग, सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, एसपी गजु सिद्दी ब्रजाचार्य, उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, वडा अध्यक्ष गोपालप्रसाद चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर मेदिनी प्रसदा साह, रासस प्रतिनिधि नानीमैया कटवाल, प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबीमाया भट्टराई, मानवअधिकार समूह शम्भुनाथका कोषाध्यक्ष शिवशंकर राम, इन्सेक सहजकर्ता अजय परियार लगायतको उपस्थिति रहेको थियो ।

मानसिक रोगीका बिरामी चौधरीलाई उपचारका लागि अस्पताल लगिएको भए पनि मोटो रकमको जोहो गर्न नसक्दा पुनः अस्पताल लान नसकिएको प्रविनकी आमा इश्वरी देबीले बताइन् । इश्वरीले मनोरोगी छोरो गाउँघरमा गई उपद्रो मच्चाउने र छोरालाई समेत चोटपटक लाग्ने भएकोले बाध्यभएर ५ वर्षदेखि सिक्रीमा बाँधेर राख्नुपरेको बताइन् ।

प्रविन १७ वर्षको हुँदा मानसिक रोगले गाँजेको र जेठो छोरा रबिन पनि बेपत्ता भएको उनले बताए । कान्छो छोरा सन्तोष भने बालकै उमेरदेखि काठमाडांँमा ज्याला मजदुरी गर्दै आएका छन् । माहिलो छोरा मनोरोगी र जेठो छोरा बेपत्ताभएदेखि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि ईश्वरीलाई आपत्माथि आपत् आइलागेको सुनील चौधरीले बताए । छोराहरूको शोकमै परशुरामको निधन भएपछि एकल भएकी ईश्वरीलाई घर व्यवहार चलाउन समस्या परेको थियो ।

बाँधेकै स्थानमा शौच गर्ने प्रविनलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्छिन् । छोराकै लागि बाँच्नुपरेको भनेकी ईश्वरीले छोराकै स्याहार गर्नुपर्दा बनीबुतो गर्नसम्म मुस्किल परेको बताउँछिन् । माया लागेर एकपटक प्रविनको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछि बाध्य भएर २४सै घण्टा बाँधेर राख्नुपरेको उनले बताइन् ।
स्वस्थ्य र फुर्तिलो छोराको उमेर १७ वर्ष लागेपछि अचानक मनोरोगको समस्या देखिन थालेको जानकारी दिँदै ईश्वरीले उपचार गराउन असमर्थ भएपछि घरमै बाँधेर राख्नुपरेको बताइन् । आफूले जन्मदिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्नु परेकोमा दुःखेसो पोख्दै ईश्वरीले भनिन्, ‘गरिब भएपछि आपूmले जन्माएको छोरालाई बाँधेर राख्नु परेको छ, पशु बरु चर्नका लागि बेलाबेलामा खोलिन्छन् तर प्रविणलाई खोल्न सकिँदैन ।’

सम्पतीको नाममा ३ धुरमा बनेको फुसको झुप्रो छ । सोही जग्गा पनि धितो राखेर गाउँकै एक बचत सहकारी संस्थाबाट ईश्वरीले ऋण सापटी लिएकी छन् । औषधि उपचार पाए छोराको रोग निको हुन्थ्यो कि भन्ने आशमा रहेकी उनले छोराको उपचारका लागि सबैतिर सहयोग मागेर थाकेकोले उपचारको पहल गर्न इन्सेक प्रतिनिधिसँग आग्रह गरेकी थिइन् ।

‘इन्सेक प्रतिनिधिको घर गएर आग्रह गरेको केही दिनपछि उहाँ आएर छोराको अवस्था हेरेर जानुभएको थियो, अहिले छोरालाई उपचार र स्याहारका लागि लैजानुभयो’, ईश्वरीदेवीले भनिन्, ‘सबैले राम्रो अस्पतालमा लैजान सुझाव दिएका हुन् तर, मसँग पैसा अभावमा उपचार गराउन असमर्थ भएकाले छोरालाई घरमै सिक्रीले बाँधेर राख्न बाध्य थिएँ ।’

औषधि र मायाको साटो नियमित सिक्रीमा बाँधेर राखिएकोले पनि प्रविनको मनोरोग जटिल बन्दै गएकोले तत्काल उपचार गराउनसके सुधार हुने भएकाले उद्धार गरिएको इन्सेक प्रतिनिधि पोखरेलले बताए ।

प्रतिक्रिया