सिरहा । सिरहाको करजन्हा नगरपालिका–३ बन्दीपुरस्थित कमला नदीको पूर्वीकिनारामा स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै योग पार्क निर्माण भएको छ । पार्कमा हरेक बिहान बेलुका बालबालिका, युवा, ज्येष्ठ नागरिक र महिलाहरू शारीरिक व्यायाम गर्छन् । व्यायाम गर्न मिल्ने विभिन्न उपकरण पार्कमै छन् । स्थानीयको माग र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै करजन्हा नगरपालिकाले व्यायामका उपकरणको व्यवस्था गरेको हो ।
बेलुका ५ बजे पार्कमा बालबालिका तथा युवाहरू केही व्यायामका उपकरणसँग व्यस्त थिए । पार्कमा बिहान र साँझपख आराम, व्यायाम र ध्यान गर्न आउने बालबालिका, युवा महिला तथा जेष्ठ नागरिक हुने गरेका छन् ।
उनीहरूलाई शारीरिक व्यायाम गर्न मिल्ने विभिन्न उपकरण पार्कमा भएको हुँदा तथा खाली ठाउँमा राखिदिएका छन् । जसमा बिहान र बेलुकीपख शारीरिक व्यायाम र आराम गर्न पुग्नेहरूको सख्या बढी हुने गरेको छ ।
नहर सुरक्षा गरी बनाइएको पार्कमा खुल्ला व्यायामका सामग्री १२ सेट, हाइ सेड २ वटा, चारैतिर बस्नका लागि १० वटा पाटो, चौतर्फी पर्खाललगायत विभिन्न ठाउँमा बस्ने फलैँचा, खानेपानीका लागि कल तथा नेपाली झन्डा २ वटा जडान गरिएको छ ।
करजन्हा नगरपालिका–३ बन्दप्पुरका वडाध्यक्ष प्रकाश कोइरालाले भने, ‘आफ्ना वडावासीलाई शारीरिक व्यायाम गर्न मिल्ने विभिन्न उपकरण पार्कमा भएकोले बिहान र बेलुकीपख शारीरिक व्यायाम र आराम गर्न स्थानीय बालबालिका, युवा महिला तथा ज्येष्ठ नागरिकहरू आउने गरेका छन् ।’
उनले नहरको जमिन भएको कारणले खाली ठाउँमा गोबर मल थुपार्ने, फोहोर फाल्ने, गाईबस्तु, घाँस पराल राख्ने र सडक अतिक्रमण गर्ने हुँदा फोहोरलाई सुन्दरमा परिणत गरी उक्त योग पार्कको निर्माण गरिएको बताए । वडाध्यक्ष कोइरालाले भने दैनिक रूपमा निरोगी बन्नका लागि यसबाट दैनिक व्यायाम गर्ने हुँदा निरोगी हुने अवसर प्रदान भएको बताए । स्थानीय युवा शिव थापाले हेर्दा सुन्दर, आकर्षक भएकोले फुर्सदको समयमा यहाँ जमघट हुने, व्यायाम गर्ने हँुदा समयको पनि सदुपयोग भएको बताए ।
प्रतिक्रिया