बालबालिकाको सुरक्षाका लागि सरकार गम्भीर छ : मन्त्री चौधरी

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकाको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताएकी छन् ।
मन्त्री चौधरीले राष्ट्रिय बालअधिकार परिषद्द्वारा जनकपुरधाममा आयोजित बालबालिका खोजतलास सेवा (१०४) सञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापनसम्बन्धी अनुशिक्षण कार्यक्रममा उनले कुनै पनि बालबालिका सडकमा रहन नहुने बताइन् ।

मन्त्री चौधरीले बालबालिका सडकमुक्त अभियान पूरा गर्न तीनै तहका सरकारबीच अधिकतम सहमति र सहकार्य जरुरी रहेकोसमेत बताइन् ।
मधेस प्रदेशमा बढी संख्यामा बालबालिका हराउने गरेको तथ्यांक रहेको बताउँदै मन्त्री चौधरीले मधेस प्रदेशमा छोरीलाई आत्मनिर्भर बनाउन प्रदेशका २० पालिकामा छोरी सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताइन् ।

कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले महिला तथा बालबालिकाको क्षेत्रमा प्रदेश सरकारले तीनै तहका सरकारसँग समन्वय, सहकार्य तथा सहअस्तित्वका साथ काम गर्न चाहेको बताए ।

युनिसेफका नेपाल प्रमुख एलिस अंकुङ्गाले संघ तथा प्रदेश सरकारका प्रमुख व्यक्तिहरूको सहभागिताले बालबालिकाको क्षेत्रमा नेपालका सबै तहको सरकार गम्भीर रहेको आफूहरूले महसुस गरेको बताएका थिए ।

प्रतिक्रिया