मैथिली विकास कोष भवनको निर्माण अन्तिम चरणमा

जनकपुरधाम । जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील रहेका मैथिली विकास कोषको सुविधा सम्पन्न एवं आकर्षक संग्रहालयसहित भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
जनकपुरधामको वडा–८ ज्ञानकूप संस्कृत नमुना माध्यमिक विद्यालयका ठिक अगाडि तथा बहुचर्चित धार्मिकस्थलको रूपमा रहेको विहारकुण्डको पश्चिममा कोषको आकर्षक भवनको निर्माण अन्तिम चरणमा पुगेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।

मधेस प्रदेश सरकारको ७ करोडको लगानीमा निर्माण भएको ४ तल्लाको आकर्षक भवनमा मिथिला क्षेत्रको संस्कृति झल्किने संग्रहालय, ३०० जना अटाउने सभा हल तथा नाटक घर, पुस्तकालय, अडियो भिडियोको निर्माण गर्ने स्टुडियो, साना साना सभाहल सहितका अनेकन पूर्वाधारहरू भवनमा खडा गर्ने कोषको लक्ष्य रहेको छ ।

भवनको निर्माण अन्तिम चरणमा पुगेको र साउन भित्रमा रंगरोगन गर्ने, ढोका तथा धारा एवं शौचालयको काम सम्पन्न गर्ने गरी कामदार परिचालन भएको छ । जनकपुरधामको ऐतिहासिक महत्वको सीताकुण्डको जग्गा लिजमा लिएर निर्माण भएको मिथिला संस्कृति भवन पूर्णरूपमा भूकम्प प्रतिरोधि रहेको छ ।
जनकपुरधामको संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि सो भवनको निर्माणले मद्दत पुग्ने विश्वास कोषको रहेको छ । चारैतिर आकर्षक पर्खालको निर्माण भएको भवनमा रहने मिथिलाको संग्रहालयको निर्माण भएपछि पर्यटकहरूका लागि आकर्षकको केन्द्र बन्ने विश्वास कोषका अध्यक्ष चौधरीको रहेको छ ।
मधेस प्रदेशको राजधानी तथा तत्कालीन मिथिलाका राजधानीसमेत रहेको जनकपुरधाममा मिथिला संस्कृतिको संग्र्रहालयको अभाव भएको बेलामा जनकपुरधाममा सुविधा सम्पन्न संग्रहालय सहितको बहुउद्देश्यीय भवनको निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीय खुसी भएका छन् । भवनको निर्माण निर्धारित समयमा नै सम्पन्न हुन लागेको छ ।

प्रतिक्रिया