हत्याको शृंखला बढ्दा बाराबासी त्रसित

८ महिनामा २ शिक्षासेवीको हत्या

बारा । बारामा बढ्दै गएको हत्याको शृंखलाले जिल्लाबासी त्रसित छन् । दिनदहाडै गोली हानेर हत्यारा फरार हुन थालेपछि जिल्लाको समग्र सुरक्षा व्यवस्थाप्रति प्रश्नचिह्न उठ्न थालेको छ । ८ महिना यता बारामा २ जना शैक्षिक क्षेत्रका व्यक्तित्वको हत्या गरिएपछि जिल्लाबासी त्रसित भएका हुन् ।
२०८० कात्तिक १३ गते जिल्ला सदरमुकाम कलैयामै बाल एकता इंग्लिस बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपल ३९ वर्षीय रुपेश स्वर्णकारको गोली हानी हत्या गरिएको थियो । २४सै घण्टा प्रहरीको ड्युटी खटिने भरत चोकभन्दा केही पर रुपेशलाई गोली हानी सुटरहरू सहजै फरार भएका थिए । त्यो बेला पनि तत्कालै हत्यारालाई प्रहरीले समात्न सकेको थिएन ।

घटनालाई थामथुम पार्न निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान लम्ब्याएको थियो । प्रहरीले उक्त घटनामा हत्या आरोपमा नियन्त्रणमा लिएकाहरू सबैलाई अदालतले निर्दोष भनी रिहा गरिसकेको छ ।

त्यस्तै प्रकृतिको घटना बारामा दोहोरिएको छ । गत शुक्रबार अपराह्न रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहालाई आदर्श कोतवाल गाउँपालिका–३ बतरामा बाटो छेकेर गोली हानी सुटरहरू भारततर्फ सहजै फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय चिउटाहाको कार्यालयभन्दा करिब १५ मिनेटको दुरीमा रहेको घटनास्थलमा प्रहरीलाई पुग्न झन्डै एक घण्टाभन्दा बढी समय लागेको थियो ।

उक्त अवधिमा गोली लागेर घाइते भएका कुशवाहाले आफूलाई सम्हाल्दै बाराका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, एम्बुलेन्स समेतलाई फोन गर्न भ्याए ।
तर नजिकै रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा आइपुगेन । गोली लागेर रगतले लतपतिएका क्याम्पस प्रमुख कुशवाहालाई प्रत्यक्षदर्शीले पनि सहयोग गर्ने तदारुकता देखाएनन् ।

यो घटनामा आफूहरू अनावश्यक रूपमा फसिने भयले प्रत्यक्षदर्शीहरूले मानवतासमेत देखाएनन् । घटनाबारे जानकारी पाएपछि कुशवाहाका आफन्तले उपचारका लागि वयोधा अस्पताल वीरगन्जमा लगेका थिए ।

घटनास्थलमा झन्डै पौने एक घण्टासम्म निरीह बनी जीवन संघर्ष गरिरहेका घाइते कुशवाहाको शरीरबाट अत्यधिक रक्तश्राव भएको थियो ।

अन्ततः ढिलो अस्पताल पुर्याइएका क्याम्पस प्रमुख कुशवाहलाई वयोधा अस्पतालका चिकित्सकले शुक्रबार बेलुकी ६ बजेर ५० मिनेटमा मृत घोषणा गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार राजनीतिक विवादले बौखलाएका खजुरिया गाउँकै विपक्षी सुरेन्द्र कुशवाहा सहितका व्यक्तिले निहत्था क्याम्पस प्रमुख कुशवाहालाई ताकेर नजिकैबाट गोली प्रहार गरी भारततर्फ फरार भएका थिए ।

पिठ्युमा गोली लागी छटपटिरहेका घाइते कुशवाहालाई स्थानीयले पनि सहयोग गरेनन् । अर्कातिर प्रहरी पनि समयमा घटनास्थलमा नआइदिँदा उनको उपचारमा ढिलाइ भएको थियो ।

सबैलाई सहयोग गर्दै आएका आफ्नो पतिलाई परेको बेला कसैले मानवता नदेखाएकोमा कुशवाहाकी पत्नी नमिता कुशवाहा दुःखी छिन् । आफ्नो जीवनको सहरालाई खोस्ने पतिको हत्यारालाई अविलम्ब पक्राउ गरी कारबाही गर्न उनले माग गरिन् ।

‘आफ्नो सहारा खोस्ने सुरेन्द्रलाई कुनै हालमा छोड्नु हुँदैन’, उनले भनिन, ‘श्रीमानको हत्यारालाई फासीको सजाय हुनुपर्छ ।’ आफू र आफ्नो छोरोलाई अब कसले माया गर्ने भन्दै उनी बिलौना गरीरहेकी छन् ।
क्याम्पस प्रमुख कुशवाहा दाई अशोक कुमार सिन्हाले राजनीतिक दुश्मनी साध्न सुरेन्द्रले आफ्नो भाइको हत्या गरेको दाबी गरे ।

‘राजनीतिक प्रतिशोध साध्न हत्या नै गरिदिन्छन् यस्तो आफूहरूले कल्पना पनि गरेका थिएनौँ’, उनले भने, ‘विगत केही दिनदेखिचाहिँ भाइलाई ज्यान मार्ने धम्की आइरहेको थियो ।’ धम्कीबारे प्रहरीलाई पनि जानकारी गराइसकिएको थियो । सुरक्षा सतर्कता अपनाउँदा पनि भाइलाई जोगाउन नसकिएको उनले बताए ।

रामराजा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर चौरसियाले जिल्लाको शान्ति सुरक्षाको अवस्था खस्किँदै गएको र शिक्षा क्षेत्रका व्यक्तिहरूलाई नै लक्षित गरी शृंखलाबद्ध हत्याको सिलसिला जारी रहनु दुःखद् भएको बताए ।
रामराजा क्याम्पस व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रभु पटेलले प्रहरी प्रशासनलाई हत्याराको बारे सूचना रहे पनि हत्यारा पक्रन तदारुकता नदेखाएको आरोप लगाए ।

‘बारा जिल्लावासी शान्ति र अमनचयनका साथ बाँच्न चाहन्छन्’, उनले भने, ‘शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी प्रशासनले बाराली जनतालाई ढुक्क भएर बाँच्ने प्रत्याभूति दिन सक्नुपर्छ ।’ जनताको जिउधनको सुरक्षा गर्न नसक्ने प्रहरीको के काम भन्दै उनले आक्रोश पोखे ।

हत्याको घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया