नाला र भवन निर्माणमा कमसल सामग्री प्रयोग

रौतहट । जिल्लाको गौर नगरपालिका–४ टिकुलियामा निर्माण भइरहेको सामुदायिक भवन र नालामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भई रहेको स्थानीयले बताएका छन् ।

चालु आर्थिक बर्षको स्वीकृति कार्यक्रम अन्तर्गत प्रदेश सरकारको भौतिक विकास मन्त्रालयको बजेटबाट निर्माण भई रहेको जयराम सहनीको घरदेखी बच्चा दासको घरसम्म नाला निर्माण तथा सर्बहारा उत्थान युवा समूहको जग्गामा निर्माण भई रहेको सामुदायिक भवनमा उपभोक्ता समितिले कमसल इट्टा तथा लागत इस्टिमेट विपरीत सिमेन्ट बालुवा प्रयोग गरिरहेको स्थानीयको आरोप रहेको छ ।

दीपा सहनी मल्लाह अध्यक्ष, रोशन गिरि सचिव र आशा कुमारी देवी कोषाध्यक्ष रहेको भौतिक पुर्बाधार विकास मन्त्रालयका पुँजिगत बजेट ३१ लाख २४ हजार ४६२ रुपैयाँको लागतमा नाला निर्माण तथा दिपु कुमार सहनी अध्यक्ष, धर्मेन्द्र सहनी सचिब र रिना देवी कोषाध्यक्ष रहेको उपभोक्ता समितिले १० लाख १० हजार ८४० रुपैयाँको लागतमा निर्माण गराई रहेको सामुदायिक भवनमा कमसल निर्माण सामग्री प्रयोग गरी रहेको स्थानीय आंसिक सहनीले आरोप लगाएका छन् ।

प्रदेश सरकारको बजेट दुरुपयोग गर्ने उदेश्यले दुवै योजनामा गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएकाले सम्बन्धित निकायले समय मै अनुगमन गर्नुपर्ने स्थानीय बच्चा दासले माग गरेको छ ।
चालु रहेको योजनामा प्राबिधिकको निगरानी हुनुपर्नेमा पुर्बाधार विकास कार्यालय रौतहटले कुनै चासो नदेखाएको आरोप स्थानीय रामाकान्त रायको लगाए ।

दुवै योजनामा प्रयोग भई रहेको कमसल निर्माण सामग्रीले नाला तथा भवन टिकाउ हुन नसक्ने स्थानीयको भनाइ रहेको छ । नाला निर्माण तथा सामुदायिक भवन निर्माणमा भई रहेको अनियमिता बारेमा छानबिन गरी कार्यवाही गर्नको लागि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिएको बुझिएको छ ।

प्रतिक्रिया