कालिकामाईमा वडा कार्यालय र विद्यालय भवनको शिलान्यास

पर्सा । जिल्लाको कालिकामाई गाउँपालिकामा बुधबार छुट्टाछुट्टै ठाउँमा १ करोड ४० लाखको लागतमा वडा कार्यालय भवन र विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ताले दुवै भवनको शिलान्यास गरेका हुन् ।
गाउँपालिका अध्यक्ष गुप्ताले कालिकामाई गाउँपालिका–१ मुडली बजारमा ९० लाख रुपैयाँको लागत वडा कार्यालय भवन र सोही वडाको टिनडोबियामा ५० लाख लागतमा बन्ने श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास गरेका छन् ।

गाउँपालिका अध्यक्ष गुप्ताको समन्वयमा जिल्ला समन्वय समिति पर्सा र गाउँपालिकाको सहयोगबाट उक्त वडा कार्यालय र विद्यालय भवन बन्न लागेको हो । सो निर्माण कार्यका लागि ६० प्रतिशत जिल्ला समन्वय समिति पर्सा र ४० प्रतिशत गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको वडा अध्यक्ष लालबाबु चौरसियाले जनाएका छन् ।

वडा कार्यालय र विद्यालय भवन २ तले निर्माण हुने जनाइएको छ । सोको निर्माण कार्य उपभोक्ता समितिबाट भइरहेको वडा अध्यक्ष चौरसियाले बताए । शिलान्यास कार्यक्रम वडा अध्यक्ष लालबाबु चौरसियाको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया