ढुंगानाको पथमा हिँडे गणतन्त्र मजबुत हुन्छ : यादव

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवले ठाकुरप्रसाद ढुंगानाको पथमा हिँडे गणतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने बताएका छन् । सहिद ठाकुरप्रसाद ढुंगानाको ६१औँ पूण्यतिथिको अवसरमा नेपाली कांग्रेस धनुषा–१ क्षेत्रीय कमिटीले आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै नेता यादवले भने, ‘लोकतन्त्र र जनताको हितमा समर्पित भएर आजीवन निरंकुश राज्य व्यवस्थाविरुद्ध लड्नुभएका ठाकुरप्रसादको पथमा आजका युवा पिढीलाई हिँड्न आवश्यक छ ।’

पूर्वमन्त्री यादवले फरक प्रसंगमा बोल्दै वर्तमान सत्ता समीकरण लामो समयसम्म टिक्न नसक्ने बताए । ‘सरकार टिकाउनकै लागि भ्रष्टाचारलाई ढाकछोप गर्नसम्मको हर्कतमा ओर्लिसकेको यो गठबन्धन जतिदिनसम्म रहन्छ देश र संविधानलाई धज्जी उडाउने काम भइरहन्छ’, यादवले भने, ‘जनताले श्रम, पसिना बगाएर आर्जन गरेको सम्पत्ती लुट्नेलाई समेत संरक्षण गर्न बाध्य सरकारले देशको उँभो लाग्न सक्दैन । यो परिपाटीलाई क्रमभंग गर्न भए पनि नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक गठबन्धन बन्न आवश्यक छ ।’

उनले कांग्रेसको नेतृत्वमा एमालेबाहेक वा एमाले र कांग्रेसकै गठबन्धन भए पनि वर्तमान सरकारलाई विस्थापित गर्नैपर्ने कुरामा जोड दिए ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य आनन्द ढुंगानाले शहादतप्राप्त गरेका ठाकुरप्रसाद ढुंगनालाई स्मरण गर्दै राष्ट्र र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले पनि कमजोर अवस्थामा रहेको उल्लेख गरे । उनले भने, ‘जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र राजनीतिलाई स्थिरता दिन विकास र समृद्धिका लागि नेपाली कांग्रेस मात्रै एक पार्टी हो जसले नेपाली जनता र समाजका लागि बलिदान दिँदै आजसम्म नेपाली समाजमा पार्टीको सिद्धान्त र विचारलाई उभ्याइ आएको छ ।’

नेपाली कांग्रेस अनुशासन विभागका संयोजकसमेत रहेका उनले थपे, ‘विगतमा संसद् विघटन भएको घटना होस् कि संविधान संशोधनको अवस्था । जनताको चाहना अनुरूप गर्न खोजेको हरेक प्रक्रियामा एमाले बाधक भयो । त्यसैले सबै नागरिकले अपनत्व ग्रहण गर्न सक्ने सर्वमान्य संविधानको सवाल होस् कि मुलुकलाई समृद्धिको दिशामा अग्रसर गराउने सवाल होस् । नेपाली कांग्रेस बलियो भए मात्रै मुलुकको निकास सम्भव छ ।’

समारोहमा पार्टी नेता एवं प्रदेश सांसदहरू रामसरोज यादव, जंगीलाल राय यादव, कुमरकान्त झा, संजय महतो र शेषनारायण यादवले ठाकुरप्रसादको वारेमा बोलेका थिए । त्यस्तै, पार्टीका प्रदेश कोषाध्यक्ष एवं हंसपुर नगरपालिका प्रमुख प्रदीप यादव, प्रदेश सदस्य जिवनाथ चौधरी, गणेशमान चारनाथ नगरप्रमुख जितनारायण यादव, धनुषाधाम नगरप्रमुख बालेश्वर मण्डल, हंसपुरकी उपप्रमुख दुर्गी मण्डल, गणेशमान चारनाथकी उपप्रमुख तुलसा पाण्डे, जनकपुरधामका पूर्वमेयर बजरंग प्रसाद साह, नेता जगत सुन्दर साहलगायत नेपाली कांगे्रसका नेताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया