फतुवा विजयपुरको शिक्षा शाखामा नाटक

मधेस ब्युरो । रौतहटको फतुवा विजयपुर नगरपालिकाको शिक्षा शाखामा कामभन्दा नाटक बढी देखिएको छ । एउटै नगरपालिकाका २ शिक्षा शाखा प्रमुखको विपरीत प्रकृतिको पत्र सार्वजनिक भएपछि शिक्षाभित्रको बेथिति सार्वजनिक भएको हो ।

जेठ २० गतेको मितिमा शिक्षा शाखा प्रमुख राजेश कुमार यादवले नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई सार्वजनिक सूचनामार्फत जेठ २१ मा मावि विजयपुरमा बैठक बोलाएका थिए । पत्रको चलानी नम्बर १३१६ लेखिएको देखिएको छ ।

पत्रको जवाफमा जेठ २१ को मितिमा चलानी नम्बर ५१ राखेर अर्का शिक्षा शाखा प्रमुख वीरेन्द्र प्रसाद चन्द्रवंशीले नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई सम्बोधन गर्दै बैठक नरहेको सूचना सार्वजनिक गरेका छन् । फतुवा विजयपुर नपाको च.न.१३१६ नम्बरको चलानी रहेको पत्र अनधिकृत रहेको पनि चन्द्रवंशीले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

दुवै पत्र नगरपालिकाको लेटर प्याडमा रहेका छन् भने दुवैमा छाप पनि लगाइएको छ । चलानी नम्बर निकै फरक रहेको दुवै पत्र सार्वजनिक भएपछि नगरपालिकाको शिक्षा शाखाको आधिकारिक प्रमुख को रहेका हुन् भन्ने विषयमा अन्यौल देखिएको छ ।

२ फरक किसिमको सूचना सार्वजनिक भए पनि सोमबार विजयपुर बजारस्थित माध्यमिक विद्यालयमा प्रअहरूको बैठक बस्दै विभिन्न निर्णयहरू गरेको छ । गत भदौ महिनादेखि बाँकी रहेको दिवा खाजाको रकम माग गर्ने, चालु शैक्षिक सत्रको पाठ्यपुस्तकको रकम माग गर्ने, केही शिक्षक तथा कर्मचारीको बाँकी रहेको तलब र भत्ता माग गर्ने, एसआइपि, सेनिटरी प्याड, बुक कर्नरको रकमका साथै प्रअ भत्ताको रकम पनि माग गर्ने निर्णयहरू प्रअ बैठकबाट गरिएका छन् ।

नगरपालिकाको शिक्षा क्षेत्रका साथै सबै क्षेत्रमा भद्रगोल छ । अहिलेसम्म बजेट चलाउने स्थिति नगरपालिकामा रहेको देखिएको छैन । कार्यवाहक नगरप्रमुख अमेया खातुन र प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालको मनोमानीको कारण नगरमा विकास तथा निर्माणका सम्पूर्ण काम पूर्णतया ठप्प रहेका छन् । नगरपालिकाको शिक्षा शाखामा २ जना शाखा प्रमुखको हालीमुहाली भएपछि शिक्षा क्षेत्र पनि अन्यौलग्रस्त बनेको छ । अहिलेसम्म पाठ्यपुस्तकको रकम निकासा हुँदा शिक्षक तथा विद्यार्थीहरू मारमा परेका छन् ।

कावा नगरप्रमुख खातुनका श्रीमान् शेख सेराजले नै नगरपालिका चलाइरहेका छन् । शिक्षा शाखाको आधिकारिक प्रमुख को हुन् भनेर प्रश्न सोध्दा सेराजले राजेश कुमार यादव नै नगरको शिक्षा शाखा प्रमुख भएको बताएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया