काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोकदोहोरी क्षेत्रमा भएका विभिन्न विकृति र विसंगति रोक्नका लागि नेपाल नगरपालिका संघ र गाउँपालिका संघलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको नेतृत्वमा काठमाडौँस्थित नेपाल नगरपालिका संघ र गाउँपालकिा संघको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाइएको हो ।
देशभरका विभिन्न नगरपालकिामा हुने मेला महोत्सवमा हुने गरेका स्टेज कार्यक्रमका भद्दा तथा अभद्र व्यवहारदेखि उच्छृंखल गायनका प्रस्तुतिसमेत रोक्नका लागि नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका संघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेलाई सो ज्ञापनपत्र बुझाइएको हो ।
अध्यक्ष थापाको साथमा वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, महासचिव शिव हमाल, उपमहासचिव, शिरिष देवकोटा, महिला उपाध्यक्ष राधिका हमाल र महिला सचिव देवी घर्ती मगर पनि ज्ञापनपत्र बुझाउन सँगै गएका थिए । यसैगरी, सहकोषाध्यक्ष जुना श्रीष मगर लगायतको सहभागिता रहेको थियो ।
ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानकी अध्यक्ष थापाले विगत लामो समयदेखि प्रतिष्ठानले यस्ता क्रियाकलाप रोक्न खोजे पनि केही कलाकारहरूले आफ्ना व्यक्तिगत स्वार्थ र लोकप्रियताका लागि देशकै मौलिक लोक संस्कृतिमाथि प्रहार गर्न नछाडेको गुनासो गरिन् । उनले नगरपालिका संघ र गाउँपालिका संघकै सहयोगमा देशैभरिका नगरपालिकामा ज्ञापनपत्र बुझाएर विभिन्न विकृति र विसंगति रोक्न पहल गरेको जानकारी दिइन् ।
उनले भनिन्, ‘हामीले धेरै लामो समयदेखि मौलिक लोकभाकाको संरक्षण गरौँ, सभ्य शैलीमा गीत गाएर र नाचेर पनि आफ्नो जीवन चलाउन सकिन्छ, हामीले नै संरक्षण नगरे हाम्रा पुस्ताले के पाठ सिक्ने ? ।’ अध्यक्ष थापाले केही दिनअघि मात्रै पनि यस्तै छाडा र मौलिक लोक संस्कृतिमाथि प्रहार गर्ने एक जना प्रतिष्ठानकै केन्द्रीय सदस्यलाई ६ महिनाका लागि निलम्बन गरिएको बताइन् ।
पूराना पुस्ताले नयाँ पुस्तालाई सुम्पिएको मौलिक लोकभाकामाथिको प्रहार कसरी रोक्न सकिएला भन्दै उनले चिन्ता व्यक्त गरिन् । ज्ञापनपत्र ग्रहण गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले लोकदोहोरी गीत देशका धेरै भू–भागमा हरेक दुःख र वेदनाका समय मन भुलाउन सुनिने मौलिकको धरोहर भन्दै यसको विकृति र विसंगति न्यूनीकरणमा सबै लाग्नुपर्ने बताए ।
उनले देशभरिका नगरपालिकाको नेतृत्व आफ्नो काँधमा भएको सुनाउँदै सम्पूर्ण नगरपालिकाका प्रतिनिधिहरूसमक्ष प्रतिष्ठानको ज्ञापनपत्र लैजाने र विभिन्न मेला महोत्सवमा मौलिक गीत संगीतको वातावरण सिर्जनाको पहल गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष ढुंगानाले दोहोरी प्रतिष्ठान गीत संगीतको मौलिकतामाथि प्रहार भएको र यसको संरक्षणका लागि पहिलोपटक आफूसमक्ष आएको भन्दै यसमा भरपुर सहयोग गर्ने बताए ।
‘लोक गीत संगीत भनेको देशमा ९८ प्रतिशत सुनिने र दुःख भुलाउने सुखद् पाटो हो’, उनले भने, ‘तपाईंहरू यसरी यहाँ आएको पहिलोपटक हो, मौलिक सिर्जना संरक्षणमा हामी सबै लाग्नुपर्छ र मेरो तर्फबाट पनि भरपुर सहयोग रहनेछ, देशका सबै नगरपालिकामा यो ज्ञापनपत्र पुग्नेछ, सबै अध्यक्षहरूको ध्यानाकर्षण हुनेछ ।’ त्यसैगरी गाउँपालिका संघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रतिष्ठानको यो पहिलो र साहसिक कदम भएको बताइन् ।
उनले प्रतिष्ठानको यो अभियानलाई आमनागरिकले साथ दिनुपर्ने भन्दै आफूले प्रत्येक गाउँपालिकामा लैजाने प्रतिबद्धता जनाइन् । अध्यक्ष पाण्डेले सम्पूर्ण गाउँपालिकामा अध्यक्षहरूसमक्ष प्रतिष्ठानको धारणा राखेर मौलिक लोक गीतसंगीतको संरक्षण र विकृति विसंगति न्यूनीकरणमा अहं भूमिका खेल्ने बताइन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले मौलिक लोक संस्कृतिको संरक्षणमा प्रतिष्ठानले यो पहलकदमी नलिए झनै विकृति र विसंगतिले छलाङ मार्ने भन्दै नगरपालिका र गाउँपाललिका संघमा पत्राचार गरेर गाउँ–गाउँ र प्रत्येक सहरमा हुने मेला महोत्सवका स्टेज कार्यक्रमदेखि छाडा गायन प्रस्तुतिमा गतिविधिमा लगाम लाग्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानका महासचिव शिव हमालले यो अभियान यतिकै नसेलाउने भन्दै अझै सशक्त भएर छाडा प्रवित्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
साथै उनले यही विकृति रोक्नका लागि केही दिनअघि गृहमन्त्री रवि लामिछानेलाई पनि ज्ञापनपत्र बुझाएको स्मरण गराए । गृहमन्त्री लामिछानेले मन्त्रालयको तर्फबाट गीतसंगीतका छाडा गतिविधि न्यूनीकरणका लागि पहल गर्ने आश्वासन दिएको बताए ।
त्यसैगरी रोल्पा कलाकार समाजकी अध्यक्ष तथा प्रतिष्ठानकी महिला उपाध्यक्ष राधिका हमालले केही दिनअगाडि रोल्पा कलाकार समाजको बैठक बसेर यही मौलिक गीतसंगीतको संरक्षण र विकृति विसंगति न्यूनीकरणका विषयमा गम्भीर छलफल भएको जानकारी दिइन् । सबैले सकारात्मक धारणा राखेर जिल्लामा हुने मेला महोत्सवमा छाडा गतिविधि तथा उच्छृंखल नाच र गायन रोक्न पहल गर्ने पनि उनले बताइन् ।
प्रतिक्रिया