हिमाली क्षेत्रको वरदान यार्सागुम्बा

३ वर्षअघि गरिएको राष्ट्रिय जनगणनामा पहाडी क्षेत्रका २५ जिल्लाको जनसंख्या ह्वात्तै घटेको देखियो भने कतिपय हिमाली जिल्लाको जनसंख्या वृद्धि तराईका जिल्लाको हाराहारीमै भएको देखियो । कतै जनगणनामा त्रुटि भएको त होइन ? भन्ने अनुमान पनि कतिपयले गरे । किनकि केही दशकअघिका जनगणनामा हिमाली क्षेत्रको जनसंख्या वृद्धि पहाडी र तराई क्षेत्रको तुलनामा अत्यन्तै कम थियो । पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा अहिले पनि सडक यातायात, बिजुली, शिक्षा, स्वास्थ्यजस्ता विकासका पूर्वाधार पुग्न सकेका छैनन् । तैपनि पछिल्ला वर्षहरूमा हिमाली जिल्लाको जनसंख्या बढेको मात्रै छैन, हिमाली जिल्लाका सदरमुकाम तथा बजार क्षेत्रको घर घडेरीको खरिदबिक्री मूल्य राजधानी काठमाडौँ उपत्यकाको भन्दा महँगो देखिएको छ । मनाङ, मुस्ताङ, सोलुखुम्बूजस्ता केही हिमाली जिल्ला पर्यटनका कारण पनि चलायमान भएका हुन् । तर, हुम्ला, मुगु, डोल्पाजस्ता अत्यन्तै विकट र दुर्गम जिल्लालाई चलायमान गराएको यर्सागुम्बाले हो । वार्षिक ४ देखि ६ अर्ब रुपैयाँ बराबरको यार्सागुम्बा नेपालबाट निर्यात हुने गरेको सरकारी तथ्यांक छ । यो त वैधानिक निर्यातको तथ्यांक हो, अवैधानिक निर्यात तथा किनबेचको परिमाण पनि निकै ठुलो छ । वैशाख र जेठ गरी वर्षको २ महिना मात्रै संकलन हुने यार्सागुम्बाबाट हिमाली जिल्लाका बासिन्दाको प्रतिव्यक्ति आम्दानीमा कम्तीमा ३० हजार रुपैयाँ बराबरको योगदान रहेको अनुमान सजिलै लगाउन सकिन्छ ।


यार्सागुम्बा संकलन गर्ने सिजन वैशाख र जेठ हो । यो सिजनमा बालबालिकादेखि वृद्धवृद्धा तथा विद्यार्थीदेखि शिक्षकसम्म यार्सागुम्बा टिप्न गाँउ नै छोडर लेकतिर जाने गर्छन् । घर तथा विद्यालयमा २ महिनासम्म ताला लाग्छ । यार्सागुम्बाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावको यथार्थ जानकारीका लािग ७ वर्षअघि नेपाल राष्ट्र बैंकले अधिक यार्सा संकलन हुने ५ हिमाली जिल्ला दार्चुला, डोल्पा, जुम्ला, बझाङ र मनाङमा स्थलगत सर्वेक्षण र अन्तरक्रियाको माध्यमबाट अध्ययन सम्पन्न गरेको थियो । उक्त अध्ययनअनुसार एक जनाले एक सिजनमा ३० हजारदेखि ५ लाख रुपैयाँ मूल्य बराबरको यार्सा संकलन गर्छन् । खाडी मुलुक तथा मलेसियामा गएर वर्षभरि हुने कमाइभन्दा वर्षको २ महिना यार्सागुम्बा संकलन गर्दा बढी हुने भएका कारण पनि यस क्षेत्रका बासिन्दा बसाइँ सरेका छैनन् । खेती गरिरहनु नपर्ने र छोटो समयमै बढी आम्दानी हुने भएकाले यार्सागुम्बा हिमाली क्षेत्रका लागि वरदान सावित भएको छ ।


यार्सागुम्बा बहुमूल्य हुनुका दुइटा कारण छन् । पहिलो कारण यसको औषधीय गुण हो । यो शक्तिबद्र्धक जडीबुटी हो । रक्तअल्पता, छाती तथा फोक्सोको संक्रमण, क्षयरोग, हेपाटाइटिस बी, मिर्गौला, कलेजोसम्बन्धी रोगको औषधि बनाउन यार्सागुम्बाको प्रयोग हुने गर्छ । दोस्रो कारण यो जडीबुटी दुर्लभ छ । यार्सागुम्बाको ९० प्रतिशतभन्दा बढी उत्पादन तिब्बत र नेपालमा मात्रै हुन्छ । बजारमा यार्सागुम्बा आपूर्तिको दृष्टिकोणले नेपाल दोस्रो ठुलो देश हो । नेपालबाट वार्षिक करिब ३ हजार किलो यार्सागुम्बा वैधानिक रूपमा निर्यात हुने गर्छ । यार्सागुम्बाको संकलन तथा कारोबारलाई व्यवस्थित गर्न केही दशकयता सरकारी स्तरमा पनि प्रयास भइरहेको छ । ऐन तथा नियमावलीसमेत बनाइएको छ । अवैध किनबेच नियन्त्रणका प्रयास भएका छन् । तर, संकलकले भन्दा कारोबारीहरूले बढी फाइदा लिइरहेको अवस्था छ । यसैगरी कात्तिकदेखि चैतसम्म ६ महिना पूरै गाउँबस्ती हिउँले ढाकिने भएकाले विद्यालयहरू बन्द गर्नुपर्ने बाध्यता छ । हिमाली क्षेत्रमा विद्यालय सञ्चालनका लागि सबैभन्दा अनुकूल सिजन वैशाख जेठ हो । तर, यही सिजनमा यार्सागुम्बा संकलन गर्नका लागि विद्यालयहरू बन्द हुन्छन् । यसरी वर्षको ८ महिना हिमाली क्षेत्रका विद्यालय बन्द हुने गरेका छन् । यो ठुलो समस्या हो । शिक्षाको अवसरबाट वञ्चित हुनु भनेको अभिशाप हो । यो समस्याप्रति सरकार बेखबर बन्न मिल्दैन ।

प्रतिक्रिया