काठमाडौँ । छाडा दोहोरी गाएको आरोपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायक बालचन्द्र बराललाई कारबाही गरेकोे छ । प्रत्यक्ष दोहोरीमा पूरानो मौलिक भाकालाई आफ्नो लोकप्रियताका लागि र्याप तथा अश्लिल गाएर समाज भाँड्न खोजेको भन्दै प्रतिष्ठानको केन्द्रिय सदस्य समेत रहेका गायक बराललाई बिहीबार ६ महिनाका लागि निलम्बन गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका महासचिव शिव हमालले बिहीबारकै मितिबाट आगामी ६ महिनासम्मका लागि गायक बरालले दोहोरी प्रतिष्ठानबाट पाउँदै आएको सम्पूर्ण सेवासुविधाबाट बञ्चित गराएको जानकारी दिए । बिहीबार प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कार्यसमिति सदस्य समेत रहेका बरालले प्रत्यक्ष लाइभ दोहोरीका नाममा प्रतिष्ठानको विधान र नेपाली लोक संस्कृतिको मर्यादा विपरित उच्छृङ्खल शैलीमा प्रस्तुति दिएकाले निलम्बन गरिएको महासचिव हमालले बताए ।
साथै उनले प्रतिष्ठानको मातहातमा रहेका अन्य कोही कसैले पनि यस्ता गतिविधि गरेको पाइएमा कारबाही गरिने बताए । प्रदेश, जिल्ला र उपत्यका समन्वय समिति तथा विभिन्न शाखामा आबद्ध जोकोही कलाकारले समाज भाँड्ने र मौलिक लोक संस्कृतिमा खलल पुर्याउनेलाई सम्बन्धित निकायले नै कारबाही गर्ने बताउँदै केन्द्रिय महासचिव हमालले गायक बालचन्द्र बराल केन्द्रिय सदस्य नै भएर पनि यस्तो गतिविधमा संलग्न भएकाले कोन्द्रबाटै निलम्बन गरेको जानकारी दिए ।
गायक बरालसहितको टोलीले लाइभ दोहोरीका नाममा विगत लामो समयदेखि प्रतिष्ठानको गरिमामै आँच पुग्ने खालका छाडा शब्द प्रयोग गरी लोक तथा दाहोरी गीतको मर्म विपरित प्रस्तुती दिँदै आएको हमालको भनाई छ । यसअघि पनि गायक बरालको प्रस्तुतीलाई लिएर चौतर्फी आलोचना भएपछि प्रतिष्ठानले उनलाई सचेत गराउँदै आएको तर अटेर गरी गीत संगीतको मर्ममाथि प्रहार गर्न नछाडेपछि बिहीबार आकस्मिक बैठक बसेर निलम्बन गरिएको प्रतिष्ठानका सञ्चार समन्वय विभाग संयोजक राजकुमार रायमाझीले जानकारी दिए ।
सञ्चार समन्वय विभाग संयोजक रायमाझीले गायक बराललाई ६ महिनासम्मका लागि निलम्बन गरिएकाले यो अवधिमा बरालले प्रतिष्ठानसँग सम्बन्धित जिल्ला, प्रदेश, केन्द्रसहितका सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधिमा समेत सहभागी हुन नपाउने बताए । साथै, प्रतिष्ठानले सोही क्रियाकलापमा संलग्न अन्य केही कलाकारहरु तथा प्रत्यक्ष–लाइभ दोहोरी सञ्चालकहरुलाई पनि सचेत गराएको उनले बताए ।
उनीहरुले पनि प्रतिष्ठान र नेपाली लोक संस्कृतिको मर्यादा विपरितका गतिविधिमा निरन्तर लागिरहे बराललाई जस्तै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको जनाएको छ । यता निलम्बित भएका गायक बालचन्द्र बरालले पनि आफ्नो गल्ती स्वीकार गरेका छन् । आफूले मौलिक गीतलाई प्रत्यक्ष दोहोरीमा र्याप गाएको स्वीकार गर्दै बरालले संस्थाले गरेको कारबाही भोग्न तयार रहेको बताए ।
साथै उनले आफू स्पष्टीकरण बुझाउन बुधबार दिउँसो १ बजे प्रष्ठिानको केन्द्रिय कार्यालय पुगेकोे र कार्यालय बन्द रहेकाले त्यतिकै फर्किएको बताए । गायक बरालले भने, ‘प्रतिष्ठान हाम्रो गौरवको संस्था हो, त्यहाँ मभन्दा अग्रजहरु हुनुहुन्छ, संस्थाभित्रका अग्रज अभिभावकहरुले गरेको निर्णयमा मैले केही भन्दीन, जे गर्नुभयो मेरै लागि पनि हो र संस्थाको हितका लागि पनि हो ।’ साथै उनले यसबाट आगामी दिनमा सचेत रहने संकेत गरे ।
प्रतिष्ठानले यसअघि गायक दुर्गेश थापालाई पनि कारबाही गरेको थियो । गायक थापाले पनि यस्तै मौलिक लोक संस्कृतिमाथि लात हान्ने गलत प्रवृत्ति अपनाउँदै आएकाले कारबाही गरिएको प्रतिष्ठानले जनाएको छ । सुरूमा सुझाव दिने र उक्त सुझावलाई अटेर गर्ने जो भए पनि कारबाही प्रक्रियामा जाने प्रतिष्ठानको भनाई छ ।
त्यसैगरी बिहीबार नै लोकदोहोरीमा हुने विभिन्न विसंगति रोक्न पहल गर्नका लागि प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, महासचिव शिव हमाल, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, पूर्व अध्यक्ष बद्री पंगेनी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमलगायत गृहमन्त्रालयमा पुगेर गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।
मौलिक लोक संस्कृतिमाथि विसंगती फैलाउने कलाकारहरुलाई प्रतिष्ठानले चाहेअनुसार सरकारबाट कानुन नपाएकाले केही हदसम्म अधिकार प्राप्तीका लागि अधिकार लिन र यसलाई रोक्नका लागि पहल गर्न गृह मन्त्रालय पुगेको महासचिव हमालले बताए ।
प्रतिक्रिया