विकासमा बेथिति, सिँचाइ नहर भत्काएर सडक निर्माण

३० हेक्टर जमिनमा सिँचाइ प्रभावित

रुकुम पश्चिम । बन्दै गरेको सिँचाइ आयोजनाको नहर संरचना भत्काएर सडक निर्माण थालिएको छ । निर्मानाधिण नहर भत्काउँदा सयौँ किसान प्रभावित हुने भएका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ र २ मा रहेको घट्टखोला खालीगैरा सिँचाइ आयोजनाको नहर भत्काएर सडक निर्माण थालिएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको नहर भत्काईएको छ । आर्थिक वर्ष २०७६ ÷७७ बाट निर्माण सुरु भएको नहरको निर्माण कार्य नसकिदै भत्काए पछि सिचाई क्षेत्र प्रभाति हुने भएको छ । निर्माणाधिन नहर भत्काएर सडक निर्माण गर्दा राज्यको सम्पतिमा चरम लापरवाही भएको छ । २०३२ सालदेखि चल्दै आएको सिँचाइको नहर भत्काएपछि उक्त क्षेत्रमा करिव ३० हेक्टर जमिन बाँझो हुने चिन्ता किसानलाई छ । पातुखोला रातामाटा सडकखण्डलाई बन्द गरेर सो क्षेत्रमा कृतिम ताल बनाउन लागिएको जनाईएको छ । निर्माणको अन्तिम चरणमा रहेको नहर भत्काउँदा किसानहरु मर्कामा परेका छन् ।

हालसम्म ६५ लाख खर्च भैसकेको छ । यो नहर भत्काउँदा किसानलाई समस्या भएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिन बहादुर केसीले बताए । उनका अनुसार नहरको करिव ९५ प्रतिशत काम सकिएको र निर्माण कार्य सकिनै लाग्दा नहर भत्काईएको हो । नहर नभत्काउन भनि सम्बन्धित निकायमा पटक पटक पत्राचार गर्दापनि अटेरी गरेर नहर भत्काईएको कृषि कार्यालयले जनाएको छ । एक हजार आठ सय मिटर लामो नहरबाट यहाँका किसानले धान, मकै, गहँु, तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । नहरको खोलाको मुहानदेखि सडक निर्माण थालिएको छ । पातुखोला घट्टखोला, खाली गैरा पशुपति मावि शिर्षकमा संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेत र पूर्वाधार विकास कार्यालय मार्फत क्रमश, ४२ लाख र २३ लाखमा सम्झौता भएको हो । पहाड कटान गरेर निर्माण गर्न लागिएको उक्त सडकखण्डमा रहेको करिव सात सय मिटर नहर भत्काईएको छ ।

‘सडक र नहर दुवै चाहिन्छ । हालकै नहरलाई कायम राखेर सडक निर्माण पछि नहर बनाउँछौँ । अहिले तत्कालका लागि वैकल्पिक माध्यमबाट सिँचाइको व्यवस्था गछौँ,’ मुसिकोटका नगरप्रमुख महेन्द्र केसीले भने, ‘कृतिम ताल बनाउन लागेको कुरा सत्य हो । तर तालकै लागि नहर भत्काएको होइन । बर्खाको समयमा खोला बढ्ने हुँदा धेरैजसो पूरानो सडक अवरुद्ध हुनेभएकाले नयाँ ट्र्याक खोलिएको हो । यो सडक बन्द भएपछि यसको विकल्पमा ड्याम बाँधेर कृतिम ताल बनाउने योजना हो ।’

कृतिम ताल निर्माणका लागि डिपिआर समेत तयार भएकाले सडक निर्माण सम्पन्न लगत्तै ताल निर्माण गरिने नगरपालिकाको भनाई छ । माथि पूल र पूलमुनि ताल हुँदा आन्तरिक तथा बाह्य पर्यटक तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताइन्छ । तर, उक्त नहर सडककै लागि भत्काईएको छ । अहिले सडक कटानको काम दुवैतिरबाट सुरु गरिएको छ । धान खेती लगाउने सिजनको मुखैमा नहर भत्काएपछि खेतियोग्य जमिन बाँझै रहने स्थानीय चिन्तामा छन् । यहाँका किसान । सिँचाइका लागि किसानले कुलो बनाएर सिँचाइ गर्दै आएका थिए । पक्कि नहर बन्नै लाग्दा फेरी भत्काईदिँदा किसानहरुमा निराशा छाएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया