मुगु । जिल्लास्थित छायाँनाथ रारा नगरपालिकामा नदिजन्य वस्तु उत्खनन रोक लगाउँदा निर्माण कार्यहरु प्रभावित भएका छन् ।स्थानीय सरकारले वातावरणिय प्रभाव अध्ययन प्रतिवेदन तयार (आइ ईई) गरी ठेक्का लगाएर नदिजन्य वस्तु उत्खनन तथा विक्रीवितरण गर्नुपर्नेमा यसो नगरी गैरकानुनी तरिकाले उत्खनन तथा विक्रीवितरण गरी नदी दहन गरिएकाले स्थानीय प्रशासनले उत्खनन, खरिद र विक्रीमा रोक लगाएको हो ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ अनुसार स्थानीय गाउँपालिका वा नगरपालिकाले आफ्ना कार्यक्षेत्र भित्र खोला, नदिहरुमा उत्खनन गर्न वातावरणिय प्रभाव अध्ययन गरी प्रतिवेदन तयार पारेर प्रतिवेदनमा उल्लेखित परिमाण र तोकिएको क्षेत्रमा मात्र नदिजन्य पदार्थ उत्खनन गर्नु पर्छ ।
लामो समय भइसक्दा पनि छायाँनाथ रारा नगरपालिका क्षेत्रमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गरी विकिवितरण गरी रहेको र जथाभावी नदिजन्य पदार्थ दोहन हुदा सडक,पुल र नदि आसपासको जमिनमा जोखिम बढ्न थालेपछि स्थानीय प्रशासनले अवैध नदिजन्य पदार्थ दोहन रोक्न गिट्टी, बालुवा, ढुंगा उत्खनन रोकेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । मापदण्ड २०७९ अनुसार स्थानीय सरकारहरुले तयार पारेको वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदनको अवधी ३ वर्षको हुन्छ ।
छायाँनाथ रारा नगरपालिकाले २०७६ सालमा आइईई गरेर ठेक्कामार्फत नदिजन्य वस्तुको उत्खनन, खरिद र विक्री गर्दै आए पनि प्रतिवेदनको अवधी सकिएको दुई वर्ष बितिसक्दा पनि नगरपालिकाले (आइईई) नगरी अवैध रुपमा खरिद, ढुवानी गर्दै आएकाहरुबाट शुल्क भने उठाउँदै आएको थियो ।
शनिबारबाट स्थानीय प्रशासनले नदिजन्य वस्तुहरु गिट्टी, बालुवा, ढुंगा उत्खनन, खरिदविक्री र ढुवानीमा रोक लगाएपछि गमगढी बजारमा निर्माणाधिन व्यक्तिगत घरहरु र नगर क्षेत्र भित्रमा सञ्चालनमा रहेका, सम्झौता भएका नगरपालिका, प्रदेश सरकार र संघीय सरकारका योजनाहरु प्रभावित भएका छन् ।
नगरपालिकाले ठेक्का खोलेर निर्माणको जिम्मा लिएका आँखा अस्पताल मुगुको भवन निर्माण कम्पनी अभिनास निर्माण सेवाका प्रोपाइटर सन्तोष कुमार मल्लले भने, ‘आथिक वर्षको अन्तिममा विना सूचना गिट्टी, बालुवा, ढुंगा बन्द गरिँदा अब आफूहरुले निर्माणको काम कसरी गर्ने ? यसको जिम्मा कसले लिने, नगरपालिकाले लिने कि प्रहरी कार्यालयले लिने या प्रशासन ।’
रारा बहुमुखी क्याम्पसको ४ कोठे भवन निर्माणको जिम्मा लिएको सुरेन्द्र निर्माण सेवाका सञ्चालन सुरेन्द्र रावलले बाधा अड्काउ कसरी फुकाउने र नगरपालिकाले जिम्मा लिनुपर्ने भन्दै समयमै काम नसकिए आफूहरु जिम्मेवार नहुने बताए । नगर क्षेत्रका झुगेला, अल्कासाघु, भैसिकुना, घट्ट, बालै भन्ने स्थानहरुबाट बालुवा, गिट्टी र ढुंगा उत्खनन तथा विक्री हुँदै आएको छ ।
मुगु कर्णाली र गमगाढ खोला नदिजन्य वस्तुका प्रमुख स्रोत हुन् । आथिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेका बेला विना सूचना नदिजन्य पदार्थ रोकिँदा निर्माण कम्पनी, उपभोक्ता समितिहरु विकास निर्माणका काम कसरी गर्ने भनेर चिन्तित बनेका छन् । उनीहरु भन्छन्, ‘काम गरौ भौतिक संरचना बनाउने ढुंगा, गिट्टी, बालुवा कहाँबाट ल्याउने, काम नगरौँ असार २५ सम्म निर्माण म्याद छ बजेट फ्रीज जान्छ ।’
कानुनविपरित विना (आइईई) नदिजन्य पदार्थ उत्खनन, विक्री तथा ढुवानी भएको स्थानीय प्रशासनबाट जानकारी भएपछि नेपाल प्रहरीले कानुन सम्वत सरोकारवाला निकायहरु संचालित होस भनेर अवैध उत्खनन,खतिद, ढुवानी र विक्रीमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए ।
यता छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम नगरपालिकाले (आइईइ) गर्नको लागि प्रकृया अघि बढाइरहेको र आथिक वर्षको अन्त्यमा (आइईइ) नबनेकै कारण नदिजन्य बस्तुमा स्थानीय प्रशासनले रोक लगाउदा विकास निर्माणका काम ठप्प भै धेरै बजेट फिंज जाने भएकाले नगरपालिका,स्थानिय प्रशासन र जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक बसि छिट्टै बाधा अड्चन फुकाउन कानुन सम्भत हुने उपाय निकालीने बताउँछन् ।
मुगु
प्रतिक्रिया