किरात समुदायले धुमधामसँग मनाए उभौली पर्व

इलाम । किरात समुदायले बिहीबार इलामसहित विभिन्न क्षेत्रमा सामूहिक रुपमा उभौली पर्व मनाइएका छन् । किराती रीति र परम्परा अनुसार भूमिको पूजा गरी किरात समुदायले धुमधामसँग यो पर्व मनाएका हुन् । किरात समुदायका राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाएका छन् ।

पर्वको अवसरमा बिहीबार बिहानैदेखि प्रकृति, देवीदेवता र भूमिको पूजा अर्चना गर्दै र एक आपसमा शुभकामना बाँड्दै यो पर्व मनाएका हुन् । लिम्बू समुदायले इलाम नगरपालिका–६ बालनगाउँमा पूजाअर्चना, शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम गरी उभौली पर्व (यक्वा तङनाम) मनाइएको छ ।

किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको कार्यक्रममा केःलाङ (च्याब्रुङ नाच), याःलाङ (धान नाच) सहित शुभकामना आदानप्रदान समेत गरिएको थियो । चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङमीको अध्यक्षता र केन्द्रीय अध्यक्ष येक्तेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजातिको मौलिक चाडपर्वको महत्वको विषयमा छलफल भएको थियो ।

त्यस्तै राई समुदायले साकेला नाच, मौलिक पोषाकहरुको प्रदर्शनी र पूजाआजा गरी उभौली मनाएका छन् । उभौलीको अवसरमा किरात राई समुदायले मौलिक नाच र झाँकी प्रदर्शन गरे । उनीहरुले इलाम नरपालिका–७ मा रहेको ओपीधारमामा रहेको साकेला थानमा पूजाअर्चना सहित शुभकामना आदानप्रदान गरेका छन् ।

यस्तै सुनुवारहरुले इलाम नगरपालिका–३, याक्खाहरुले इलाम नगरपालिका–२ र थामीहरुले माईजोगमाई गाउँपालिकामा आआफ्नो देवीदेवताको पुजाआजा, नाँचगान, साँस्कृतिक कार्यक्रमलगायत इष्टमित्र भेटघाट गरी उभौली मनाएका छन् । यस पर्वका विषयमा स्थान र परम्परा अनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको सुरुआत भएदेखि नै यो पर्व प्रचलनमा आएको विश्वास गरिन्छ ।

उभौलीलाई समुदाय, ठाउँ र भाषागत भिन्नता अनुसार विभिन्न नामले पुकारिन्छ । किरातीहरु प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गर्दछन् । अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किरा फट्याङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिउन्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, प्राकृतिक प्रकोप तथा विपत्ति नआवोस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गर्ने गरिन्छ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा रहेको छ । तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा समेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाउने पर्वलाई उभौली भनिएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले बताए ।

‘उभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न एवम् अन्नबाली रोप्नका लागि प्रकृतिसँग शक्ति माग गर्दै खुसीयालीमा यो पर्व मनाउने गरिएको छ,’ उनले भने, ‘किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली पर्व र नयाँ अन्नबाली भित्र्याएपछि मङ्सिरे पूर्णिमाको बेला उधौली पर्व मनाउने प्रचलन रहेको छ ।’

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उभो लाग्ने किरात समुदायको विश्वास छ । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भन्ने गरिएको छ । वैशाख पूर्णिमाअघिको १५ दिन र पछि १५ दिन गरी महिना दिनसम्म किरात समुदायले यो चाड मनाउने गर्दछन् ।

प्रतिक्रिया