वीरगन्ज । ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीबाट पर्सा ट्राफिक प्रहरी कार्यालयले १० महिनामा २ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले दुई करोड १७ लाख १७, ७५६ राजस्व संकलन गरेको जनाएको छ ।
पर्सा ट्राफिकको प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाको सक्रियतामा जिल्ला भित्र विभिन्न शीर्षकमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनलाई जरिवाना गरेको हो ।
ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सबभन्दा बढी ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत १ करोड २२ लाख सतासी हजार २ रुपैयाँ राजस्व संकलन गरेको खतिवडा जानकारी दिए ।
त्यस्तै सोही अवधिमा ९ हजार ७ सय ३४ मोटरसाइकल चालक कारबाहीमा पर्दा ६८ लाख ४ हजार ५१ र १ सय ७० यात्रुवाहक बसबाट १६ लाख ७५ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक खटिवडाले बताए ।
१७२८ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट १५ लाख ८८ हजार ७०३ र ३१० ट्रयाक्टर चालकबाट २ लाख ४७ हजार जरिवाना असुल गरिएको छ ।
पर्साको सडक सञ्जालमा दैनिक सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०८०र०८१ मा दुर्घटनाको संख्या केही कमि आएको छ । तर, सडक सञ्जाल व्यवस्थित हुदै जादा तीव्र गतिका कारण दुर्घटनाका घटना पनि बढि हुने गरेका छन् ।
दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियानहरू समेत चलाउदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यातयात व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना, सचेत र ‘अन द स्पट’ कारवाही गर्दाको असरले सवारी दुर्घटनामा कमि आएको ट्राफिक प्रहरीको दाबी छ ।
प्रतिक्रिया