बिल भएको सामान पक्राउको विरोधमा व्यवसायी आन्दोलित

धनुषा । भन्सार कटाएको मालसामान पक्राउ गरेको भन्दै जनकपुरधामस्थित उद्योगी व्यवसायी भन्सार कार्यालय अगाडि प्रदर्शनमा उत्रेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा दर्जनौ उद्योगी व्यवसायीले भन्सार कटाएर ल्याइएको मालसामान प्रहरीले पक्राउ गर्नु नियम विपरित र गैरकानूनी रहेको भन्दै विरोध गरेका हुन ।

जनकपुरधामस्थित कपडा व्यवसायी अनिकेत अग्रवालले जटही भन्सारबाट भन्सार छुटाएर ल्याइरहेको करीब १० लाख रुपैयाँ बराबरको मालसामान रामपुरबाट बुधवार बेलुका ६ बजेतिर रेलवे स्टेशन पोष्टमा कार्यरत डिएसपी पवनले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएका थिए ।

भन्सार कार्यालयले आवश्यक अनुसन्धानका लागि पथलैया पठाउने भनेपछि व्यवसायीहरू आन्दोलित भई प्रदर्शनमा उत्रेको बुझिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष सुरेन्द्र भण्डारीले भने भन्सार कटाएर ल्याइएको मालसमान क्षेत्राधिकार बाहिर त्यो पनि सिभिल ड्रेसमा पक्राउ गर्नु गैरकानूनी भएको बताए । कमीशनका लागि डिएसपी पवनले मालसामान पक्राउ गरेको उनको जिकीर छ ।

उनले थप्दै भने, ‘यदि भन्सार कटाएको छैन भने व्यवसायी गलत हो । भन्सारले जे सुकै कारवाही गरोस हामीलाई मान्य छ । तर कमीशन नदिएपछि मालसामान पक्राउ गरी भन्सारमा बुझाउनु भनेको व्यपारी तर्साउने कार्य रहेकाले हामीले त्यसको विरोध गरेका छन् । यदि मालसामान अवैध रुपमा ल्याइएको हो भने भन्सार बोर्डर कटाएर जटहीबाट दुई/तीन ठाउँमा सशस्त्र र नेपाल प्रहरीको चेकजाँच रहेको अवस्था कसरी आयो,’ उनले प्रश्न गर्दै भने, ‘यो जनकपुरमा सशस्त्र प्रहरीले पक्राउ गर्नु ज्यादती हो । यसले के प्रष्ट हुन्छ भने सशस्त्र प्रहरी अवैध रुपमा कमीशन दिएर मालसामान ल्याउन भन्नेतर्फ उद्दत गरिरहेको छ ।’ बरामद गरीको सामान बिना शर्त नछोडे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन् ।

प्रतिक्रिया