बेइजिङ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रूस र चीन सदाका लागि भाइचारा रहेको बताएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठ र अन्तर–सांस्कृतिक वर्ष प्रारम्भका अवसरमा आयोजित समारोहमा पुटिनले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध जारी रहने विश्वास व्यक्त गरे ।
‘यो कार्यक्रम कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवलाई समर्पित छ, ७५ वर्षअघि सिर्जना गरिएको त्यस समयको एउटा प्रसिद्ध गीत जुन प्रायजसो आजसम्म गाइन्छ, यसमा एक प्रसिद्ध पङ्क्ति छ, ‘रूसी र चिनियाँ सदाका लागि भाइहरू हुन्’, पुटिनले भने ।
तासका अनुसार उनले रुस–चीन साझेदारीको भ्रातृभावलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् । ‘म विश्वस्त छु कि हामी सौहार्दपूर्ण रूसी–चिनियाँ साझेदारीको भ्रातृ भावनालाई बलियो बनाउने पहल जारी राख्नेछौँ’, रुसी राष्ट्रपति पुटिनले भने ।
राष्ट्रपति पुटिन आफ्नो चीनको राजकीय भ्रमणका क्रममा शुक्रबार हार्बिन आइपुगेका हुन् । रूसी राष्ट्रपतिले हार्बिनमा आठौँ रूसी–चिनियाँ प्रदर्शनी र अन्तरक्षेत्रीय सहकार्यको चौथो रूस–चीन फोरमको उद्घाटन गरे ।
रूसी राष्ट्रपतिले चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ । त्यहाँ उनले व्यापार र सहयोग फोरममा भाग लिने छन् ।
तासका अनुसार चीन र रूसबीचको सीमा तनावले ऐतिहासिक रूपमा ग्रस्त यस क्षेत्रले हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखेको छ । जसले दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्धलाई बढावा दिएको पाइन्छ ।– रासस, एएनआई
प्रतिक्रिया