किसानका लागि सिँचाइ प्रमुख चुनौती : प्रमुख यादव

धनुषा । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवले धनुषामा सिँचाइ प्रमुख चुनौतीको रूपमा रहेको बताएका छन् । विशेष गरी धान, गहँु, आँप, दलहन तथा केरा खेतीका लागि प्रसिद्ध रहेको धनुषामा सिँचाइको आवश्यक उपलव्धता नभएकै कारण सोचेजस्तो उत्पादन हुन नसकेको उनको भनाइ छ ।


‘मिहिनेत बढी र उत्पादन कम भएकै कारण कृषकहरू विदेश पलायन भएको अवस्था छ’, उनले भने, ‘कृषिमा यान्त्रीकरणको आवश्यकता छ, यसका लागि सरकारले सोच्नुपर्ने हो ।’ बेरोजगार युवाहरूलाई कृषि क्षेत्रमा लगाउन अहिले कृषि ज्ञान केन्द्रमा स्ट्रोबेरी खेती, कागती खेती गर्न युवालाई तालिमको पनि व्यवस्था रहेको उनले बताए ।

खेतीलाई व्यवस्थित बनाउने र त्यसको जानकारी हासिल गर्नेमा प्रचारप्रसारको कमी रहेको उनले बताए । युवाहरू विदेश जानु भन्दा आफ्नो श्रम आफनै भूमीमा खर्च गरे मुलुक र कृषिका लागि उपयुक्त हुने उनको कथन रहेको छ । प्रमुख डा.यादवले चामलको आयात बढदै गइरहेकोले खाद्यान्न मुलुक उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको बताउँदै राइस मिलको व्यवस्थापनदेखि लिएर विभिन्न किसिमको कृषिमूलक तालिमको व्यवस्थापन हुनु अति आवश्यक रहेको उनले बताए ।

उनले यसवर्ष धनुषाको सिँचाइ उपलव्ध रहेको ७ हजार हेक्टरमा मात्र चैते धानको उत्पादन भएको र यो कृषि क्षेत्रका लागि निराशाजनक परिणाम रहेकोले सिँचाइप्रति सरकारलाई ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘सिँचाइकै कारण चैते धानको विस्तार हुन सकेन, यसका लागि स्यालो ट्युबेलले मात्रै समस्या समाधान हँुदैन, अहिले स्यालो टयुबेल पनि सुकेर जाने अवस्था छ । त्यसैले कमला र कोसीको पानी पाइपको माध्यमबाट ल्याई सिँचाइको समस्या समाधान गर्नुपर्छ ।’ नदीहरूको पानी पाइपको माध्यमबाट ल्याएर रिजर्ब बैंक बनाई आवश्यक परेको बेलामा खेतीमा सिँचाइ गर्न सकिने बताउँदै उनले भरत तालजस्तै बनाएर पर्यटन बढाउने, माछा खेती गर्ने र सिँचाइका लागि पनि प्रयोग गर्नेजस्तो नीति सरकारले ल्याउनुपर्ने आवशयकता रहेको बताए ।

प्रमुख यादवले सरकारले कृषि क्षेत्रमा किसानलाई मल, बिउ र पानीको व्यवस्थापन गरिदिए कृषिमा देखिएको समस्या समाधान हुने सुझाव दिए । उनका अनुसार गड्यौले मलको प्रविधि हरेक वार्डमा सुरु गर्नुपर्छ, अहिले बढी मलको प्रयोगले जग्गा एसिडिक भएको र त्यसलाई समाधान गर्नका लागि गोबरबाट बनाइएको मल प्रयोग गर्नुपर्छ । यसैगरी धान र गहँुको क्षेत्रको रूपमा धनुषा रहे पनि बिउको हाहाकार भएको अवस्था रहेकाले स्रोत केन्द्रहरूमा यसको विस्तार गर्नुपर्ने उनको धारणा रहेको छ ।

प्रतिक्रिया