क्रिकेटर लामिछाने प्रकरणले दिएको सन्देश

प्रख्यात क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ । लामिछानेले होटलमा लगेर आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक युवतीले २०७९ भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी दिएको पर्सिपल्ट भदौ २३ गते नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । निलम्बन गर्ने बेलासम्म उनी नेपाली क्रिकेट टोलीको कप्तान नै थिए । उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै थिए । आफूविरुद्ध बलात्कारको आरोपमा उजुरी परेको सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्के ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनलाई पक्राउ गरी हत्कडी लगायो । प्रहरी हिरासतमा रहेकै बेला जिल्ला सरकारी वकिल कार्यालय काठमाडौ“ले कात्तिक १४ गते उनलाई प्रतिवादी बनाएर काठमाडौ“ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो । उक्त आदेशपछि उनी कारागार चलान भएका थिए । २०८० पुस २५ गते काठमाडौ“ जिल्ला अदालतले उनलाई ८ वर्ष कैदको सजाय सुनाएको थियो । साथै, पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरिएको थियो । जिल्ला अदालतको यो फैसलापछि लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए भने पीडित भनिएकी युवती सजाय तथा क्षतिपूर्ति कम भयो भन्दै उच्च अदालत पुगेकी थिइन् ।

अन्ततोगत्वा बुधबार पुनरावेदन अदालत पाटनले लामिछाने निर्दोष भएको फैसला सुनाएको छ । दुवैपक्षले राजीखुसीका साथ करणी लेनदेन गरेका कारण बलात्कार भन्न नमिल्ने जिकिर लामिछाने पक्षका वकिलहरूले गरेका थिए ।

विगत केही वर्षदेखि अदालतमा बलात्कारका मुद्दा दिनहुँजसो दर्ता हुने गरेका छन् । फैसला पनि दिनहुँजसो हुने गरेका छन् । तर, सन्दीप लामिछाने्विरुद्ध परेको बलात्कारको मुद्दाले भने करिब २० महिनासम्म सर्वाधिक राष्ट्रिय चर्चा पायो । यही मुद्दाका कारण देशका कतिपय घटनासमेत मिडियामा ओझेलमा परे । खास गरी युवा वर्ग र क्रिकेट प्रेमीहरूको सर्वाधिक चासोको विषय बन्यो । एनजिओ तथा आइएनजिओकर्मीहरूले पनि यो प्रकरणलाई धेरै चासो दिए । यो प्रकरणले नेपालको क्रिकेट खेललाई समेत क्षति पु¥यायो । खेलाडी लामिछानेको प्रतिष्ठा त यो अवधिभर धुलिसाफ भयो । किनकी उनीमाथि आरोप मात्रै लागेको थिएन, उनले बलत्कार नै गरेको ठहर प्रहरी र सरकारी वकिलले समेत गरेको थियो । त्यसमाथि पनि जिल्ला अदालत काठमाडौ“ले पुष्टि गरिसकेको अवस्था थियो ।

उच्च अदालतको फैसला अन्तिम हुँदैन । फैसलाको पूर्ण पाठ आउन बाँकी नै छ । पीडित भनिएको पक्ष सर्वोच्च अदालतमा जाने ठाउँ बाँकी नै छ । तर, यस्ता घटनाबाट सरोकारवाला सबैले पाठ सिक्नु जरुरी छ । अन्य अभियोग र बलत्कारको अभियोेगलाई एउटै टोकरीमा राख्न नमिल्ने हो कि ? भन्ने सन्देश यो प्रकरणले दिएको छ । बलत्कार भनेको अपराध मध्येको पनि ज्यादै जघन्य र संवेदनशील हो । त्यसैले बलत्कारमा संलग्न अपराधीका निम्ति ज्यादै कडा कानुन तर्जुमा गरिएको छ । बलत्कार विरुद्धको कानुनी व्यवस्थामा हिसाबले हाम्रो देश युरोपेली मापदण्डमा पुगिसकेको छ । तर, अनुसन्धान प्रक्रिया भने अझै पनि ढुंगेयुगबाट बामे सर्दै छ । बलत्कारसम्बन्धी कानुनको मर्मलाई आत्मासाथ गर्दै अनुसन्धानलाई भित्री रहस्यसम्म पुर्याउने जनशक्ति नेपाल प्रहरीमा छैन ।

बलत्कार र ‘हनी ट्रयाप’ बीचको अन्तर के हो भन्ने कुरामा स्पष्ट हुने जनशक्तिको खाँचो भने नेपाल प्रहरीमा छैन, तर यस्तो जनशक्ति ज्यादै कम छ । क्रिकेट खेलाडी लामिछाने, चलचित्रकर्मी पल शाहको घटना त सर्वाधिक चासोको विषय भएकोले चर्चामा आएको हो । चर्चामा नआएका यस्ता घटना त कति छन् कति ? बास्तविक बलत्कारी उम्केका र करणी लेनदेनका क्रममा आर्थिक लेनदेनमा कुरा नमिलेपछि बलत्कार भयो भन्दै उजुरी दिइएका घटना त कति छन् कति । यसरी उजुरी दिनेमाथि अदालतले दण्ड सजाय तोकेका घटना पनि उल्लेख्य छन् । बलात्कारसम्बन्धी कानुनका कतिपय प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने हो कि ? भन्ने चासो पनि धेरैतिरबाट आएको छ ।

प्रतिक्रिया