धनुषाको वर्तमान स्वास्थ्य अवस्था !

जनकपुरधाम । धनुषामा क्षयरोगीको संख्या बढ्दो रहेको छ । विगतको तुलनामा क्षयरोगीको संख्या घटे पनि पूर्णतया निर्मुल पार्न सकिएको छैन । धनुषामा मुख्य रोगको कुरा गर्ने हो भने क्षयरोग अगाडि रहेको देखिएको छ । धनुषामा कुल जनसंख्या ८ लाख ७७ हजार ६२ मध्ये क्षयरोगीको संख्या १ हजार १ सय ५४ जना रहेको छ । बालबालिकामा लाग्ने क्षयरोग एमडिआर टिबी पनि मुख्य समस्याको रूपमा रहँदै आएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार धनुषामा ११ जना बालबालिकामा एमडिआर टिबीको संक्रमण देखापरेको छ । कुष्ठरोगको अन्त्यका लागि नेपालले धेरै पहिलेदेखि लागे पनि अहिलेसम्म निमुर्ल पार्न सकिएको छैन, धनुषामा अहिले पनि १२३ जनामा कुष्ठरोगको संक्रमण कायम रहेको स्वास्थ्य प्रमुख उमेश कुमार यादवको भनाइ छ ।

स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार क्षयरोग र कुष्ठरोग नियन्त्रण गर्न विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरिँदै आएको छ । धनुषामा अहिले पनि धेरै रोगहरू जनस्वास्थ्य समस्याको रूपमा रहँदै आएको छ । उनका अनुसार धनुषामा हात्तीपाइले रोगको संख्या लगभग १ हजार ३५० रहेको छ । ‘योग रोगको उपचार छैन, औषधि सेवन मात्रै एउटै रोकथामको उपाय हुन्’, उनले भने, ‘रोगबाट बच्नका लागि आफ्नो घर वरिपरिको वातवरण स्वस्थ र स्वच्छ राख्नु तथा सुत्ने बेला अनिवार्य झुलको प्रयोग गर्नु एक मात्र विकल्प रहेको छ ।’

अहिले पनि धनुषाको सहरी क्षेत्रमा अधिकांशले हात्तीपाइलेको औषधि खान नचाहेका कारण धनुषामा हात्तीपाइलेको रोग नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको उनको भनाइ रहेको छ । धनुषामा स्वास्थ्य संस्थाको रूपमा १ वटा प्रादेशिक अस्पताल रहेको छ, ५ वटा पिएचसी र ९८ वटा एचसी रहेको छ भने बेसिक हेल्थ युनिट ५६ वटा र सिएचयु ६ वटा रहेको छ । त्यसैगरी १ वटा प्रादेशिक आयुर्वेद औषधालय र ८ वटा लोकल आयुर्वेद औषधालय र १२ वटा नागरिक आरोग्य केन्द्र स्वास्थ्य संस्थाको रूपमा रहेको स्वास्थ्य कार्यालय धनुषासँग तथ्यांक रहेको छ ।

प्रतिक्रिया