युवा नगरप्रमुख भएको कटहरियामा काम भने सुस्त

कटहरिया पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मधेस ब्युरो । रौतहटको कटहरिया पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । कटहरिया नगरपालिका पूर्ण सुनिश्चित घोषणा भएसँगै अब रौतहटमा कुनै पनि पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी छैन । रौतहटमा २ गाउँपालिका र १६ नगरपालिकासहित १८ पालिका छन् ।

कटहरिया नगरपालिकामा आयोजित एक समारोहमा जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामअयोध्या राय यादव, नगरप्रमुख अजय प्रकाश र जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिनकुमार साहले नगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन् । नगरका सम्पूर्ण वडाध्यक्ष, युनिसेफ र डब्लुएचओका प्रतिनिधिहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा कटहरियालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

योजनाअनुसार क्रमशः कटहरिया नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख शंकर यादवको भनाइ छ । रौतहटका पालिका प्रमुखमध्ये कटहरियाका नगरप्रमुख अजय प्रकाश सबैभन्दा युवा रहे पनि शिक्षा, स्वास्थ्य, विकास निर्माण र तथ्यांकसित सम्बन्धित अन्य काममा पालिका निकै सुस्त रहेको गुनासो रहेको छ । कटहरिया नगरपालिकाले गर्ने गरेको विकास निर्माण तथा कर्मचारीको नियुक्ति र तलब भत्ताको सवालमा जहिले पनि आलोचना हुने गरेको छ । नगरपालिकाले सूचना दिने सवालमा पनि निकै पछाडि रहेको छ । जिल्लाको युवा नगरप्रमुख रहेको पालिका नै जिल्लामा सबैभन्दा पुछारमा पूर्ण खोप सुनिश्चित घोषणा हुनुले पनि पालिकाको सबै गतिविधि सुस्त रहेको देखिएको बुद्धिजीवीहरू आरोप छ ।

चालु आर्थिक वर्षको लागि जिल्लामा ९ ओटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा हुन बाँकी रहेकामा गत चैत महिनादेखि घोषणा गर्न सुरु गरिएको हो । जिल्लाका सबै पालिकाले ५ वर्षभन्दा मुनिका सामान्यतया कुनै पनि बालबालिका खोप नलिएको नदेखिएको मानिएको छ । जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिए पनि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न अझै केही समय लाग्ने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत रामजन्म राय यादवले विभिन्न अनुगमन, परीक्षण तथा पुनः खोप दिएर कटहरियालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताएका छन् । रौतहटका सबै पालिकाले जिल्ला जनस्वास्थ्य कार्यालयसित गरेको सम्झौता अनुरूप काम गरेको र सबै पालिका पूर्ण सुनिश्चित पालिका घोषणा भएको यादवले जानकारी गराएका छन् ।

केही सूचकहरू मिलाउने काम भइरहेको र यस वर्ष घोषणा गरिएका पालिकाहरूमा सूचकका आधारमा परीक्षण गरिएपछि मापदण्ड पूरा भएको पाइएमा जेठको दोस्रोदेखि तेस्रो हप्तासम्म रौतहटलाई बालबालिकाको लागि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने सम्भावना रहेको स्रोतको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया