मानिसको शरीरमा हुने दुइटामध्ये एउटा मिर्गौलाले नै काम गर्ने भएकाले आवश्यक परेका बेला आफ्ना नातेदारलाई आँखा चिम्लेर एउटा मिर्गौला दिएर नातेदारको ज्यान जोगाउन सकिने प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन्
काठमाडौँ । जन्मेपछि एक दिन मर्नैपर्छ, यो ध्रुवसत्य कुरा हो । तर, मर्ने रहर कसैलाई हुँदैन । जस्तोसुकै बिरामी भए पनि उपचार गरेर निको हुने र पूर्ण जीवन बाँच्ने रहर सबैलाई हुन्छ, चाहे भएभरको जायजेथा सकियोस्, बाँच्ने अभिलासा सबैको हुन्छ ।
आफू बाँच्नकै लागि अन्य कसैको मृत्युको पर्खाइमा बस्नुपर्ने बाध्यता दीर्घरोग लागेका बिरामीहरूलाई छ । अभिलेखमा भएको विवरणअनुसार हाल १ हजार ५० जना अन्य व्यक्तिको मृत्यु पर्खिएर बसेका छन्, आफू बाँच्नका लागि ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सो संख्याका बिरामी पालो कुरेर बसेका हुन् । १ हजार जना कलेजो खराब भई प्रत्यारोपण गर्नुपर्ने र ५० जना कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी अन्य व्यक्तिको मृत्यु कुरेर बसेका हुन् ।
केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंग नपाएर १ हजार जना मिर्गौला र ५० जना कलेजो प्रत्यारोपणका लागि कुरेर बसेको बताए । कसैको मस्तिष्क मृत्यु भइसकेपछि पनि केही समय शरीरका अन्यले काम गरिरहेका हुन्छन् । ती अंग पूर्ण रूपमा मृत नभईकन अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । केन्द्रका निर्देशक श्रेष्ठले भने, ‘यहाँ कतिपय बिरामी १० वर्षदेखि प्रत्यारोपणका लागि अंगदाता कुरेर बसिरहनुभएको छ । मस्तिष्क मृत्यु भइसकेपछि कसैले अंगदान गरे उहाँहरूलाई पालोअनुसार प्रत्यारोपण गर्न सकिन्छ ।’
दुर्घटनामा परी, रूख वा भिरबाट लडेर वा अन्य कुनै कारणले टाउकोमा गम्भीर चोट लागेमा मस्तिष्क मृत्यु हुन सक्छ । चिकित्सकीय भाषामा मस्तिष्क मृत्यु हुनु भनेको मानिस पूर्ण रूपमा मृत हुनु हो । मस्तिष्क मृत्यु भएको मानिसले सास लिन सक्दैन र भेन्टिलेटरको सहायता लिइन्छ । भेन्टिलेटरबाट सास लिउन्जेल शरीरका अन्य अंग मृत भइसकेका हुँदैनन् । यही अवस्थामा उसको अंगदान गरी अन्य बिरामीमा अंग प्रत्यारोपण गरिन्छ ।
अंग प्रत्यारोपणका लागि पालो कुरेर बसेका बिरामीलाई मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अंग पाएको खण्डमा मापदण्डका आधारमा प्रत्यारोपण गर्ने डा. श्रेष्ठ बताउँछन् । ‘दान भएको मिर्गौला र कलेजो पहिले कसले पाउँछ भनेर हामीले मापदण्ड बनाएका छौँ,’ उनले भने, ‘त्यसकै आधारमा हामी प्रत्यारोपण गर्छौं ।’
उनका अनुसार मापदण्डअनुसार सबैभन्दा बढी अंक ल्याउनेको पहिले पालो आउँछ । मिर्गौलाका लागि लामो समयसम्म कुर्ने बिरामीलाई बढी अंक दिइन्छ भने त्यसपछिको अंक म्याचिङ राम्रो भएको, त्यसपछि अंगदाता र प्रत्यारोपण गरिने व्यक्तिबीचको उमेर फरक सबैभन्दा कम र चौथो नम्बरमा महिलाले अंक पाउँछन् । महिलालाई पुरुषको तुलनामा ३ गुणा बढी अंक दिने गरिएको डा. श्रेष्ठ बताउँछन् । ‘सबै पुरुषले महिलाको अंग झिकेर प्रत्यारोपण गरेका हुन्छन् । धेरैजसो महिलाले अंग दिने देखिएको छ । त्यसैले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट आएको अंग महिलालाई ३ गुणा बढी दिने व्यवस्था मापदण्डमा छ,’ उनले भने ।
मस्तिष्क मृत्युपछि अंग उपलब्ध भएपछि सबैभन्दा बढी अंक ल्याउने बिरामीलाई बोलाएर अंग प्रत्यारोपण गरिन्छ । केन्द्रमा अहिलेसम्म ५ जनाको मस्तिष्क मृत्युपछि उनीहरूको अंग १० जनामा प्रत्यारोपण गरिएको छ । जसमध्ये ३ जनाको कलेजो र ७ जनाको मिर्गौला प्रत्यारोपण गरिएको उनले बताए ।
यस्तै केन्द्रमा अहिलेसम्म १ हजार २३८ जनाको मिर्गौला र २३ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रले मुलुकको २ तिहाइभन्दा बढी अंग प्रत्यारोपण गर्ने गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । यहाँ गरिएको मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत र कलेजो प्रत्यारोपण ९० प्रतिशतभन्दा बढी सफल भएको श्रेष्ठले बताए ।
केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेको कुनै शुल्क लाग्दैन भने कलेजो प्रत्यारोपणमा भने १५ देखि २० लाख रुपैयाँसम्म शुल्क लाग्ने गरेको श्रेष्ठ बताउँछन् । यो शुल्क विश्वमै सबैभन्दा सस्तो हो । यस केन्द्रमा पहिलो पटक २०६९ मिर्गौला प्रत्यारोपण गरिएको थियो भने सन् २०१६ मा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो ।
केन्द्रले सुरुमा कलेजो प्रत्यारोपणका लागि विदेशबाट चिकित्सक झिकाउने गरे पनि पछिल्लो समय भने मुलुककै दक्ष चिकित्सकबाट प्रत्यारोपण गर्दै आएको छ । यद्यपि कलेजो प्रत्यारोपण धेरै जोखिमपूर्ण हुने भएकाले विदेशी चिकित्सकलाई पनि ‘स्ट्यान्डबाई’ राख्ने गरेको श्रेष्ठ बताउँछन् ।
मिर्गौला भने सिंगै झिकेर प्रत्यारोपण गरिए पनि कलेजो भने आधा काटेर प्रत्यारोपण गरिन्छ । उनका अनुसार कलेजो ३ महिनामा ९० प्रतिशत पलाउँछ । मादक पदार्थ र भाइरल हेपाटाइटिस बी र सी तथा कमलपित्तको कारणले कलेजो बिग्रने, कसैले जन्मजात कलेजो बिग्रेको हुन्छ, त्यस्ता मानिसको कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
अंगदानका लागि जनचेतना आवश्यक
महादान मानिने अंगदानलाई कुनै जातजाति वा धर्ममा निषेध गरिएको छैन । तर, मृत्युपछि खरानी भएर जाने अंगदानबारे जनचेतना जगाउन नसक्दा सोचेजस्तो अंगदाता नभेटिएको प्रत्यारोपण केन्द्र जनाउँछ ।
शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०७२ ले अंगदान गर्न सकिने व्यवस्था गरेको छ । ऐनले बिरामीलाई ३ तरिकाले अंग लिन/दिन सक्ने व्यवस्था गरेको छ । पहिलो– आफ्नो नजिकका नातेदार, दोस्रो– दुवै तर्फबाट लिन/दिन मिल्ने अवस्थामा र तेस्रो मस्तिष्क मृत्युपछि अंगदान गर्न सकिने व्यवस्था छ ।
मानिसको शरीरमा दुइटा मिर्गौला हुन्छन् । एउटै मिर्गौलाले शरीरलाई धान्ने भएकाले आवश्यक परेका बेला आफ्ना नातेदारलाई आँखा चिम्लेर एउटा मिर्गौला दिन सकिने श्रेष्ठ बताउँछन् । उनले जनचेतनाको कमीले अझै पनि मानिसले अंगदान नगर्ने गरेको बताए । ‘मस्तिष्क मृत्युपछि मानिसको अंग त्यतिकै जलेर खरानी भएर जान्छ,’ उनले भने, ‘खेर जाने अंग गाडेर वा जलेर खरानी हुने, तर दान दिन किन नहुने ? १ जनाबाट ८ जनाको ज्यान जोगाउन सकिन्छ ।’
मिर्गौला दान दिनेहरू स्वस्थ हुने गरेको पाइएको उनको भनाइ छ । ‘मिर्गौला दान नदिनेभन्दा दिनेहरू झनै स्वस्थ्य भएका छन् । मिर्गौलादाताले प्रत्येक वर्ष स्वास्थ्य परीक्षण गराउने गर्छन्,’ उनले भने, ‘दान नदिनेहरू मलाई के भएको छ र म स्वस्थ छु भनेर बस्ने गरेका छन् । मिर्गौला दाताको समस्या छ भने समयमा थाहा भएर उपचार हुने भयो । अर्को स्वस्थ व्यक्ति मलाई केही भएको छैन भनेर स्वास्थ्य परीक्षण पनि नगराउने र भित्रभित्र केही न केही समस्या देखिने गरेको छ ।’
उनले मृत्युपछि खराबी भएर जाने ८ वटा अंग सबैले दान गरेर अरूलाई बचाउनुपर्ने बताउँछन् । दुइटा मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यान्क्रियाज मस्तिष्क मृत्युपछि दान गर्न सकिन्छ ।
केन्द्रमा अहिलेसम्म दुई हजार ३०० भन्दा बढी व्यक्तिले मृत्युपछि अंगदान गर्ने भनेर मन्जुरीनामा गरेका छन् । तीमध्ये हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत छन् । चेतनाको कमीका कारण आफन्तको ज्यान जोगाउन कसैले अंगदान नगर्दा अरू कसैको मृत्यु कुरेर बस्नुपर्ने बाध्यतामा बिरामी छन् ।
प्रतिक्रिया