वीरगन्ज । वीरगन्ज महानगरपालिका–२१ पटेलनगरमा बुधबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीवन रेखा समाज ललितपुर र नेसनल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७१९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
पटेलनगरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको परिसरमा आयोजित शिविरमा १८७ जना पुरुष, १५७ जना महिला र ३७५ जना बालबालिका गरी ७१९ को स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको शिविरका इन्चार्ज विकास गुप्ताले जानकारी दिए ।
शिविरमा जेनलल मेडिसिन, गाइनो, अर्थोपेडिक, दाँत, नाक, कान, घाँटी, मुटु, छाला लगायतका समस्याको चेकजाँच गरिएको थियो । शिविरमा नेसनल मेडिकल कलजेका चिकित्सकहरू प्रवेज अन्सारी, प्रवीण साह, ओमप्रकाश पण्डित, अभिनाष सिंह, फिरोज अन्सारी, श्वाती साह, सन्जिव लगायतको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरको उद्घाटन हिमाल डिस्टिलरी प्रालिका जेनरल म्यानेजर नवीन उपाध्यायले गरेका थिए । शिविरमा नेसनल मेडिकल कलेजका प्रशासन अधिकृत शेख फिरोजको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया