टमाटरको सस बनाउने उपकरण हस्तान्तरण

लालबन्दी । सर्लाहीको लालबन्दीमा अघिल्लो महिना सञ्चालित टमाटरको सस (केचब) बनाउने तालिममा सहभागीलाई सस बनाउने विभिन्न उपकरण हस्तान्तरण गरिएको छ । वडा–६ स्थित कार्यालय परिसरमा एक कार्यक्रम गरी तालिममा सहभागीलाई सस उत्पादन गर्न आवश्यक पर्ने पल्प मेसिनसहित आवश्यक पर्ने एक सेट उपकरण हस्तान्तरण गरिएको नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शाखाका बरिष्ठ उद्यम विकास सहजकर्ता समिर सुवेदीले जानकारी दिए ।

१६ देखि २० फागुनसम्म पहिलो समुह र २१ देखि २५ गतेसम्म दोस्रो समूहलाई व्यावसायिक केचब बनाउने सीप विकास तालिम प्रदान गरिएको थियो । तालिममा सहभागी ५३ जनालाई भूगोल र सहजताका आधारमा तीन ओटा समूहमा विभाजन गरेर सो सामग्री हस्तान्तर गरिएको सुवदीले बताए ।

लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आर्थिक सहयोगमा लालबन्दी नगरपालिकाले आयोजना गरेको तालिममा नगरका १५ वटा वडा (७ र १४ बाहेक) का ५३ जनाको सहभागिता रहेको थियो । प्रविधि हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, योजना शाखा प्रमुख रुपेश चौलागाईं, राजस्व शाखा प्रमुख गोपाल थापा, वडा–६ का वडाध्यक्ष लालकुमार योञ्जन, ८ का शुक्रबहादुर पाख्रिन, मेड्पा शाखाका रमेशकुमार घिमिरे लगायतको सहभागिता रहेको थियो ।

तालिमपश्चात व्यवसाय सुचारु गर्नका लागि आवश्यक प्राविधिक सामग्री हस्तान्तरण गरिएको (मेड्पा) शाखाका घिमिरेले बताए । घरेलु तथा साना उद्योग विकास समितिका पूर्वउपनिर्देशक रामबहादुर श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीहरूले यहाँ उत्पादन हुने आँप, मेवाजस्ता फलफूलबाट पनि यस्तै केही बनाउन सकिने भए त्यस्तो तालिम पनि आयोजना गर्न लालबन्दी नगरपालिकासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया