बारा । मकवानपुर क्रिकेट एसोसिएसनले प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि जितेको छ । जीतपुरसिमरा–४ औराहास्थित सेज क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पर्सा क्रिकेट क्लबलाई सात विकेटले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पर्साले १९ दशमलव ४ ओभरमा अल आउट हुँदै ९० रन जोडेको थियो ।
पर्साका लागि सुरज पटेलले सर्वाधिक ४५ रन बनाए । पटेलले ४३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । यसैगरी पर्साका हासिम अन्सारीले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
पर्सालाई सस्तैमा समेट्नका लागि असिम श्रेष्ठले ३ दशमलव ४ ओभरमा घातक बलिङ गर्दै सर्वाधिक तीन विकेट लिए भने पियुश शर्माले दुई र विशाल फुयाल र रोहित ठाकुरले समान एक–एक विकेट लिए । पर्साले दिएको ९१ रनको सामान्य लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको मकवानपुरले १२ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।
मकवानपुरका लागि तक्षक सिम्खडाले ३० रन बनाए । सिम्खडाले २० बलमा दुई चौका र तीन छक्का प्रहार गरे । यसरी मकवानपुरका विशाल फुयालले २५, सक्षमले अविजित रहँदै १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले एक्लै तीन विकेट लिए ।
पर्सालाई सात विकेटले पराजित गरेसँगै प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरले उचालेको छ । उपाधिसँगै मकवानपुरले एक लाख नगद प्राप्त गरेको छ भने पर्साले ५० हजार हात पारेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मकवानपुरका शुभ कंसाकार घोषित भएका छन् । उनले १० हजार नगद प्राप्त गरे । यसैगरी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान मकवानपुरका शुभ कंसाकार उत्कृष्ट बलर खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीलाई नेकपा एमालेको पोलिब्युरो सदस्य एवं पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेल, मधेस प्रदेशसभा सदस्य देवनाराण चौधरी लगायतले पुरस्कार वितरण गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र अभियान नेपालको आयोजनामा प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजना गरिएको थियो ।
बारा
प्रतिक्रिया