प्रहरीले मनी ट्रान्सफर घटनामा लुटिएको रकम खुलाएन

रौतहट । जिल्लाको परोहा नगरपालिका–९ रामपुर खापमा भएको घटनामा लुटिएको रकमबारे जिल्ला प्रहरी कार्यालय रौतहटले केही खुलाएको छैन । लुटिएको रकम नखुलाएको विषयमा अनेक आशंका उब्जिएको छ ।

भारतीय सीमासँग जोडिएको सो वडामा रहेको शिव मनी ट्रान्सफरमा गएको शुक्रबार दिउँसो गोली चलाई लुटपाट गरेका थिए । तीन जनाको समूहमा आएका भारतीय लुटेराले सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरी रकम लुटेर भाग्दै गरेको अवस्थामा स्थानीयले फक्रउ गरी प्रहरीलाई बुझाएको थियो ।

घटनाको भोलिपल्ट पत्रकार सम्मेलन गरी स्थानीयले बुझाएका ती लुटेरालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । घटनामा प्रयोग भएको मोटरसाइकल, हतियार बरामद भएको जनाए पनि लुटिएको रकम के कति बरामद भएको भन्ने बारेमा प्रहरीले प्रष्ट पारेको छैन । यसले अनुसन्धान फितलो हुने हो कि भन्ने आशंका पैदा गराएको छ ।

भारतीय नम्बर प्लेट बिआर ०६ सिएल ९७९६ नम्बरको अपाची मोटरसाइकलमा आएका लुटेराले बैंकभित्र प्रवेश गरी सञ्चालक साहमाथि गोली प्रहार गरी भाग्दै गर्दा प्रहरीको टोली पुगेर उमीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेका बिहार पूर्वी चम्पारणका १९ वर्षीय मुनीफकुमार यादव, १८ वर्षीय राधा भन्ने राजकुमार पासवान र सोही ठाउँका २० वर्षीय चुनुकुमार सिंह भन्ने चंद्रभान सिंहलाई प्रहरीले हिरासतमा राखेको छ ।
शुक्रबार दिउँसै भएको सो घटनाले नेपाल प्रहरीलाई ठूलो चुनौती दिएको छ । चाडपर्वको अवसरमा सुरक्षाका लागि व्यापक रूपमा नेपाल प्रहरी परिचालन भएको अवस्थामा एउटै मोटरसाइकलमा तीन जना नेपाल प्रवेश गरी लुटपाट मच्चाउँदा प्रहरीले कसरी थाहा पाएन भन्दै स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया