रौतहट । रौतहटमा पहिलोपटक हुन लागेको ठूलो धनराशिको क्रिकेट प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ । रौतहट जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको पालिका क्रिकेट कप २०८० को तयारी तीव्र रूपमा अगाडि बढाइएको हो ।
२६ फागुनदेखि सुरू हुने प्रतियोगिताको लागि खिलाडीहरूको पोसाक तयारी तथा क्रिज निर्माणको कार्य अन्तिम चरणमा रहेको इभेन्ट मैनेजर तथा रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपालले बताए ।
प्रतियोगितामा सहभागी हुने रौतहटको १८ पालिका मध्ये १७ पालिकाको टिमका लागि चाहिने पोसाकको व्यवस्थापन भइसकेको भन्दै पिच बनाउने कार्य द्रुत गतिमा रहेको जानकारी गराए ।
पहिलोपटक हुन लागेको प्रतियोगितामा मौलापुर नगरपालिकाले आफ्नो सहभागिता नजनाएको बताउँदै १५ नगरपालिका र दुई गाउँपालिकासहित १७ स्थानीय तहले आफ्नो सहभागिता सुनिश्चित गरेको कोषाध्यक्ष नेपालले बताए ।
करिब ६० लाखको लागत रहेको पालिका कप क्रिकेट प्रतियोगिताको अन्तिम निर्णायक खेल दिनरात हुनेछ ।
गौरस्थित राइस मिलको मैदानमा हुने डेनाइट फाइनल खेलका लागि लाइटको व्यवस्थापनसमेत भइसकेको बताउँदै एकदिनका लागि बिजुली बत्तीको सात लाख खर्च लागेको उनले बताए ।
रौतहट जिल्लाबाट राष्ट्रिय टिममा खेलाडी छनौट गरी पठाउने उद्देश्यले आयोजना हुन लागेको पालिका कपको खेल आइसिसीको नियमअनुसार क्यानको प्रत्यक्ष निगरानीमा हुने छ ।
प्रतियोगिताको विजेता टिम र उपविजेता, उत्कृष्ट ब्याट्स म्यान, बलर, किपर, क्षेत्र रक्षक, म्यान अफ दी सिरिज हुनेलाई राम्रो पुरस्कारको व्यवस्था रहेको रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन गुप्ताले बताए ।
पालिका कपलाई भव्य रूपमा सम्पन्न गराउनका लागि गौर आउने मुख्य सडक खण्ड, सार्वजनिक सडक, चोकचोकमा सजाउने कार्य जारी रहेको छ ।
प्रतिक्रिया