जाजरकोट भूकम्पका चार महिना : पुननिर्माणका लागि पाँच लाख

– विपत् संकटग्रस्त घोषणा

रुकुमपश्चिम । सरकारले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी स्थायी आवास निर्माणका लागि प्रति परिवार पाँच लाख रुपैयाँ दिने भएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मा गएको भूकम्पबाट प्रभावित घरपरिवारलाई पुनर्निर्माणका लागि पाँच लाख रुपैयाँ दिने कार्यविधि पास गरेको हो । भूकम्प गएको चार महिनापछि सरकारले उक्त कार्यविधि ल्याएको हो ।

लामो समयदेखि पुनर्निर्माणको पर्खाइमा बसेका प्रभावितलाई कार्यविधि निर्माण भएसँगै थप सहज भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम र सल्यानका पालिकालाई विपत् संकटग्रस्त घोषणा गरी पुनर्निर्माण अघि बढाउने सरकारले निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जिल्लाका संकटग्रस्त पालिका घोषणा गर्ने र पुनर्निर्माणका लागि स्रोत जुटाएर प्रतिपरिवार पाँच लाख अनुदान दिने कार्यविधि पास गरेको हो । भूकम्प गएको चार महिनापछि कार्वविधि पास भएपछि पुनर्निर्माण अगाडि बढ्ने प्राधिकरणले जनाएको छ । हालसम्म पहिचान भएका लाभग्राहीको संख्या ८२ हजार ९ सय ३७ पुगेको छ । जसमध्ये अहिलेसम्म ४८ हजार ५ सय ६५ अस्थायी आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको संख्या ७ हजार ८ सय ३३ रहेको प्राधिकरणले जनाएको छ । अझै १० हजार बढी प्रभावित पालमुनि नै रहेको तथ्यांकमा देखिएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा क्षति भएका घरहरूको अहिले अस्थायी आवास निर्माण जारी छ । पुनर्निर्माणका लागि आवश्यक तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि सरकारले पुनर्निर्माणको काम अघि नसार्दा भूकम्पपीडित मर्कामा पर्दै आएका थिए । भूकम्पबाट जाजरकोटका भेरी, नलगाड, बारेकोट नगरपालिका र छेडागाड र रुकुमपश्चिमका आठबिसकोट, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिकामा बढी मात्रामा मानवीय र भौतिक क्षति भएको थियो । ‘बढी भौतिक क्षति भएका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण थाल्ने निर्णय भएको छ ।

जाजरकोटमा ४५ हजार ५ सय २४ जना लाभग्राही कायम भएका छन् । त्यसमध्ये २० हजार अस्थायी आवास मात्र निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जाजरकोटमा ३२ हजार ९ सय ८ लाभग्राहीले सम्झौता गरेकामा ३१ हजार ९ सय ६१ परिवारले मात्र पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ पाएका छन् । जिल्लाका लागि निकासा भएको १ अर्ब ३ करोड रुपैयाँमध्ये पालिकाहरूले ७९ करोड ९० लाख मात्र पीडितलाई भुक्तानी दिएका छन् । आधाभन्दा बढी अस्थायी आवास निर्माण गर्न बाँकी छ भने, एक हजार लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छैनन् ।

यसैगरी जाजरकोट भूकम्पले बढी क्षति पु¥याएको रुकुमपश्चिममा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । जिल्लाभर ७ हजार ३ हजार ९ सय १२ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार ९ सय ६२ मध्ये अझै ३ हजार ९ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको र ती अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया