जनचेतना नहुँदा ज्यान गुमाउँदै पैदल यात्री

वीरगञ्ज । नेपालमा हुने सडक दुर्घटनाको ७८ प्रतिशत कारण चालकको लापरबाही नै हो । त्यसपछि सडकको अवस्थाका कारणले पनि धेरै दुर्घटना हुने गरेको छ । गाडीको अवस्था, ट्राफिक नियमको पालना नगर्नु, जनचेतनाको कमी, धेरै यात्रु बोकेर हिँड्नु, तीव्र गतिमा गाडी हाँक्नु लगायतका धेरै कारणले गर्दा दुर्घटना हुने गरेको एक कार्यक्रममा वक्ताहरूले बताएका छन् ।

जनचेतनाको अभावका कारण कतिपय सवारी दुर्घटनामा पैदल यात्रीले समेत ज्यान गुमाउनुपरेको भन्दै चालक यात्रुलाई जिम्मेवार बनाउन ट्राफिक कार्यालय पर्साले विभिन्न सडक जनचेतना अभियान सञ्चालन गर्दै आएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए ।
‘अहिले सर्वसाधारणमा जनचेतनाको अभावका कारण यातायातका साधनको सिट क्षमताभन्दा बढी यात्रु बस्ने, जथाभावी बाटो काट्ने गरेका कारण यात्रुलाई जनचेतनाको माध्यमबाट सचेत गराउँदै आएका छौँ’, उनले बताए ।

दुर्घटना न्यूनीकरण गर्न गाडी कसरी चलाउने, गाडी आफ्नो नियन्त्रणमा राख्नको लागि कति गति हुनुपर्छ र बाटो अनुसार कति गति कायम गर्ने भन्ने कुरा चालकको योग्यता, क्षमता र नियन्त्रणको कुरा भएकोले चालकले यो कुरामा ध्यान दिने हो भने धेरै दुर्घटना टर्न सक्ने प्रहरीको भनाइ छ ।
त्यसैगरी हतारको यात्रा पनि दुर्घटनाको कारण हो । हतारमा अरूको लेनमा गएर सवारी चलाउँदा पनि दुर्घटना हुने गरेको छ ।
सडकमा ट्राफिक प्रहरी देखे मात्र ट्राफिक नियम पालना गर्ने नत्र बेवास्ता गर्दै हिँड्ने प्रवृत्ति अहिले धेरै बढेको छ । यसलाई नियन्त्रण गर्न पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने, लेन अनुशासन, जेब्राक्रसिङका बारेमा चेतना अभिवृद्धि गरी दुर्घटना न्यूनीकरण गर्नु प्रमुख उद्देश्य रहेको उनले बताए ।

ट्राफिक नियम पालना गर्नका लागि हामीले मनबाटै अठोट लिन जरुरी छ । जीवन सबैको अनमोल छ । सडकमा गाडी चलाउँदा वा पैदल हिँड्दा जहिले सतर्क हुन उनले आग्रहसमेत गरे ।

प्रतिक्रिया